Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘वडा नम्बर ६’ फ्लेवरको ‘छ माया छपक्कै’ ट्रेलर (भिडियो)

फिल्मीखबर, काठमाण्डौ, 2019/09/20
नेपाली फिल्मको इतिहासमा बक्सअफिसमा ठूलो अंक जोड्न सफल फिल्म ‘छक्का पञ्जा’ टिमले निर्माण गरेको नयाँ फिल्म ‘छ माया छपक्कै’ को ट्रेलर सार्वजनिक भएको छ । बिहीबार उद्घाटन भएको बानेश्वरमा अवस्थित ‘वान सिनेमाज’ हलमा आकस्मिक पत्रकार सम्मेलन गर्दै निर्माण टिमले फिल्मको ट्रेलर सार्वजनिक गरेको हो । ट्रेलर ‘वडा नम्बर ६’ फ्लेवरको छ । अर्थात् राजनीति पृष्ठभूमिमा प्रेम बुनिएको छ । 
 
 
फिल्ममा कलाकार दीपकराज गिरी राजनीतिज्ञको भूमिकामा छन् । उनको प्रेम आफूभन्दा आधा उमेर कम युवती केकी अधिकारीसँग हुन्छ । केकीका पिता पनि राजनीतिज्ञ हुन्छन् । तर, पार्टी फरक । राजनीतिक द्वन्द्वले प्रेममा पार्ने प्रभावलाई ट्रेलरमा देखाउन खोजिएको छ । फिल्मको ट्रेलरमा कमेडीलाई प्रधानता दिइएको छैन । केही गम्भीर छ । यद्यपि, केदार घिमिरेको हाउभाउ र संवादले भने दर्शक हँसाउँछ । 
 
दीपेन्द्र लामा निर्देशित फिल्ममा दीपकराज गिरी, केकी अधिकारी केदार घिमिरे, जितु नेपाल, सुपुष्पा भट्ट, अनुराग कुँवर, प्रकाश घिमिरे, रमा थपलिया, विष्णु सापकोटालगायतका कलाकारहरुको अभिनय छ । असोज २४ गतेबाट देशव्यापी प्रदर्शनमा आउने फिल्ममा निर्देशक लामालाई दीपाश्री निरौलाले निर्देशनमा सघाएकी छन् । फिल्मलाई हरि हुमागाइँले खिचेका हुन् भने विपिन मल्लले सम्पादन गरिरहेका छन् । 
 
ट्रेलर सार्वजनिक कार्यक्रममा दीपकराजले ‘वडा नम्बर ६’ फ्लेवरमा ‘छ माया छपक्कै’ निर्माण नभएको बताए । ‘वडा नम्बर ६’ कै निरन्तरता हो ? भन्ने पत्रकारको प्रश्नले उनले भने, ‘हामीले ‘६ एकान ६’ देखि ‘छक्का पञ्जा ३’ सम्म बनाएका फिल्मको अनुहार फरक थियो । यसपटक पनि अनुहार फरक छ । ‘वडा नम्बर ६’ र ‘छ माया छपक्कै’ को कथामा कुनै मेल छैन ।’ उनले फिल्ममा राजनीतिक पृष्ठभूमिमा प्रेम बुनिएको बताए । 
 
फिल्मका कार्यकारी निर्माता केदार प्रसाद घिमिरे हुन् । निर्देशक लामाकै कथा रहेको फिल्ममा दीपकराज गिरीको पटकथा रहेको छ । संवादमा उनलाई केदार प्रसाद घिमिरे, जितु नेपाल, अभिमन्यू निरवीले सघाएका छन् । रोशन श्रेष्ठको द्वन्द्व रहेको यस फिल्ममा कविराज गहतराजको कोरियोग्राफी छ । रोहित अधिकारीले फिल्मको निर्माण गरेका हुन् । यो फिल्मलाई रिलिज अगावै ‘स्योर सट’ हिट मानिएको छ ।
 
ट्रेलर हेर्नुहोस् :-

Most Visited News (monthly)