फिल्म ‘झोले’ मा ‘भँगेरी डन’ को भूमिका निर्वाहा गरेपछि चर्चामा आएका कलाकार अर्जुन गुरुङको प्रमुख भूमिका रहेको फिल्म ‘गोर्खे’ को ‘गाम भरी हल्ला भो’ बोलको रोमान्टिक गीत सार्वजनिक भएको छ । हरि लम्सालको शब्द तथा संगीत रहेको गीतमा भुषण खतिवडाको स्वर छ । गीतको भिडियोमा अर्जुन र नव-अभिनेत्री अञ्जली अधिकारी फिचर्ड छन् ।

शिव वि.कको कोरियोग्राफी रहेको गीतमा आफूहरुको सम्बन्धबारे गाउँभरी हल्ला भएपछि अर्जुन अञ्जलीलाई भाग्न उक्साउँदै देखिएका छन् । गीतको अडियो बलियो छ । तर, भिडियो कमजोर बनेको छ । कोजु इन्टरटेन्टमेनको ब्यानरमा हरि लामाको प्रस्तुति र तिर्थ राम कोजु र हरि थापाको निर्माण रहेको फिल्मलाई सन्तोष ढकालले निर्देशन गरेका हुन् ।
यो फिल्मको यसअघि सार्वजनिक भएको ‘सिन्की अचार’ गीत अहिले चर्चामा छ । जसलाई यूट्युबमा ५० लाखभन्दा बढी पटक हेरिएको छ । पोखरा, काठमाडौंलगायतका स्थानमा खिचिएको फिल्ममा हिमाल केसीको द्वन्द्व रहेको छ । फिल्ममा अर्जुन र अञ्जलीसँगै रविन्द्र प्रताप सेन, आश्मी लामा, आश्मी श्रेष्ठ, एन्जेल श्रेष्ठलगायतका कलाकारहरुको अभिनय छ ।
फिल्मले गोर्खे बन्ने सपना बोकेका ५ युवाहरुको कथा उठाएको छ । दुई गीत सार्वजनिक भइसके पनि फिल्मको प्रदर्शन मिति भने अझै टुंगो लागेको छैन । निर्देशक ढकालले फिल्म प्रदर्शनका लागि उपयुक्त मिति खोज्न लगातार वितरकसँग छलफल भइरहेको बताएका छन् । उनका अनुसार, यसै वर्षभित्र फिल्म प्रदर्शनमा आउनेछ । फिल्म राम्रो बनेको उनको दाबी छ ।
गीत हेर्नुहोस् :-

