यस वर्षको बहुप्रतिक्षीत फिल्ममध्ये एक ‘कबड्डी कबड्डी कबड्डी’ को एडभान्स बुकिङ खुल्ला गरिएको छ । शुक्रबारबाट देशव्यापी प्रदर्शनमा आउन लागेको यो फिल्मलाई नेपालको सबैभन्दा बढी चेन भएको क्यूएफएक्स सिनेमाज्ले सर्वाधिक सोज बाँडेको छ । काठमाडौंको पाँच स्टेशनमा फिल्मलाई ३७ शो दिइएको छ । यसअघि कुनै नेपाली फिल्मले यो संख्यामा सोज पाएका थिएनन् ।
यसअघि क्यूएफएक्स चेनमा सर्वाधिक सोज फिल्म ‘छक्का पञ्जा ३’ ले पाएको थियो, जसले ३१ सोजमा प्रदर्शन सुरु गरेको थियो । त्यस्तै, ‘कबड्डी कबड्डी कबड्डी’ लाई क्यूएफएक्सले मोफसलको आफ्नो चार स्टेशनमा २७ सोज बाँडेको छ । फिल्मको व्यापारिक हिसाबमा मुख्य कारक मानिएको क्यूएफएक्स चेनले फिल्मलाई आफ्नो देशभरका ९ वटा हलमा कूल ६४ सोज दिएको छ ।
(1).jpg)
फिल्मप्रति दर्शकको उत्साहपुर्ण क्रेजलाई मध्यनजर गर्दै क्यूएफएक्सले मंगलबारबाटै एडभान्स बुकिङ ओपन गरेको हो । बुकिङ खुलेसँगै दर्शकले आफ्नो सिट ‘रिजर्भ’ गर्न थालिसकेका छन् । अन्य मल्टीप्लेक्सहरुले भने फिल्मलाई भोली दिउँसो सोज बाँड्नेछन् । क्यूएफएक्सले बाँडेको सोज हेर्दा ‘कबड्डी कबड्डी कबड्डी’ ले बक्सअफिसमा बम्पर ओपनिङ गर्ने अनुमान गर्न सकिन्छ ।
गएको जेठमा प्रदर्शनमा आएको फिल्म ‘जात्रै जात्रा’ पछि कुनै फिल्मले नाफाको व्यापार गर्न सकेका छैनन् । आश गरिएका फिल्म समेत बक्सअफिसमा डुबेका छन् । फिल्म निर्माण र प्रदर्शन गर्न निर्माता डराइरहेको अवस्थामा ‘कबड्डी कबड्डी कबड्डी’ ले खडेरी लागेको नेपाली फिल्मको व्यापार चलायमान बनाउने अपेक्षा गरिएको छ । फिल्मका निर्देशक रामबाबु गुरुङ हुन् ।
फिल्ममा दयाहाङ राई, उपासना सिंह ठकुरी, कर्मा शाक्य, विल्सन विक्रम राई, बुद्धि तामाङ, माओत्से गुरुङ, विजय बराल, रिश्मा गुरुङ, कमलमणी नेपाल, अरुणा कार्कीलगायतका कलाकारहरुको पनि अभिनय छ । स्वजातिय विवाह र अन्तर्जातिय प्रेम सम्बन्धको अन्तरद्वन्द्वको कथा वाचन गर्ने फिल्मको कथा निर्देशक निर्देशक गुरुङ र उपेन्द्र सुब्बाले तयार पारेका हुन् ।

