Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(32 votes, avg 5.00/5.00)
Text size:-
+
-

बक्सअफिसमा भिड्ने भए पूजा र स्वस्तिमा

फिल्मीखबर, काठमाण्डौ, 2019/09/17
गएको साउन अन्तिममा प्रदर्शनमा आएको फिल्म ‘हजार जुनीसम्म’ को ट्रेलर रिलिज कार्यक्रममा अभिनेत्री स्वस्तिमा खड्काले एक बयान दिइन्, ‘२० लाख पारिश्रमिक लिएपछि ५० लाखको दर्शक हलमा तान्न सक्नुपर्छ ।’ यो अभिव्यक्ति उनीमाथि निकै भारी पर्‍यो । उनले अभिनेत्री पूजा शर्मालाई लक्षित गरेर उक्त बयान दिएको भन्दै ठूलै हल्लाखल्ला भयो । एक फिल्ममा पूजाले २० लाख पारिश्रमिक लिएको खबर बाहिरिएकै समयमा स्वस्तिमाले यो अभिव्यक्ति दिएकी थिइन् । 
 
त्यसपछि पूजाका फ्यान स्वस्तिमामाथि खनिए । राष्ट्रिय अवार्ड पाएपछि उनमा घमण्ड पलाएको भन्दै टिका-टिप्पणी पनि हुन थाल्यो । तर, उनले आफूले कसैप्रति लक्षित गरेर उक्त बयान नदिएको स्पष्टिकरण दिँदै आएकी छन् । पूजाले २० लाख पारिश्रमिक लिएको विषयमा आफू अनविज्ञ रहेको उनको दाबी छ । फिल्ममा अभिनय गर्नका लागि २० लाख पारिश्रमिक लिएपछि ५० लाखको दर्शक हलमा तान्न कलाकारले सक्नुपर्ने आफ्नो भनाईको उद्येश्य रहेको उनी बताउँछिन् । 
 
तर, यो बयानपछि पूजा र उनका प्रशंसकको आँखामा अभिनेत्री स्वस्तिमा तारो बनेकी छन् । यसैक्रममा, अब यी दुई अभिनेत्री पहिलो पटक बक्सअफिसमा आमने-सामने हुने भएका छन् । आउँदो कात्तिक ८ गते पूजा र स्वस्तिमाको फिल्म एकअर्कासँग भिड्ने निश्चित भएको छ । पूजाको प्रमुख भूमिका रहेको फिल्म ‘पोइ पर्‍यो काले’ सँग स्वस्तिमाको फिल्म ‘घामड शेरे’ एकै मितिमा भिड्न कस्सिएको छ । सोमबार यो फिल्मको फस्टलुक पोस्टरसहित प्रदर्शन मिति घोषणा गरियो । 
 
 
तिहारको विदा छोप्न दुबै फिल्मले कात्तिक ८ रोजेका हुन् । शिशिर राणा निर्देशित फिल्म ‘पोइ पर्‍यो काले’ मा पूजासँगै सौगात मल्ल, श्रृष्टि श्रेष्ठ, आकाश श्रेष्ठलगायतको अभिनय छ । भने, ‘घामड शेरे’ लाई हेमराज विसीले निर्देशन गरेका हुन् । यसमा स्वस्तिमाले आफ्नो श्रीमान् निश्चल बस्नेतसँग रोमान्स गरेकी छन् । सोमबार सार्वजनिक भएको यो फिल्मको फस्टलुकले धेरैको ध्यान खिचेको छ । जहाँ अभिनेता तथा निर्देशक निश्चललाई धुस्रेफुस्रे मुहारमा देख्न सकिन्छ । 
 
पूजा र स्वस्तिमाबीच शितयुद्ध चलेको अवस्थामा ‘पोइ पर्‍यो काले’ र ‘घामड शेरे’ बक्सअफिसमा भिड्ने भएपछि यसले फिल्मवृतमा ठूलै तरंग उत्पन्न भएको छ । दुबै फिल्मलाई एकअर्कासँग प्रतिस्पर्धा गर्न सहज नहुने अनुमान गरिएको छ । तर, पूजा र स्वस्तिमामा ‘को नम्बर वान ?’ भन्ने अघोषित प्रतिस्पर्धा देखिएका कारण दुई फिल्मको भिडन्तले धेरै हदसम्म यसको छिनोफानो पनि गर्ने कतिपयको विश्लेषण छ । यसलाई दुई अभिनेत्रीको प्रतिष्ठाको लडाईंको रुपमा पनि हेरिएको छ । 
 
रोचक कुरा चाहिँ के छ भने ‘पोइ पर्‍यो काले’ का लागि अभिनेत्री पूजा पहिलो रोजाइ थिइनन् । निश्चल बस्नेत र स्वस्तिमा खड्कालाई सोचेर निर्देशक राणाले कथा तयार पारेका थिए । उनले दुईलाई फिल्म अफर पनि गरेका थिए । तर, उनीहरुले फिल्म गर्ने इच्छा देखाएनन् । त्यसपछि निर्देशक राणाले पूजा र सौगातको जोडी बाँधे । यसकारण पनि कात्तिक ८ मा हुने दुई फिल्मको भिडन्तलाई विशेष रुपमा हेरिएको छ । जित/हार पो कुन फिल्मको होला ? खैर, दुबै फिल्मलाई शुभकामना । 
Most Visited News (monthly)