Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

विल्सनको स्वीकारोक्ती : ‘म पैसामुखी भएछु’

फिल्मीखबर, काठमाण्डौ, 2019/09/17
हास्यटेलिसिरियल ‘मेरी बाँस्सै’ मा ‘तक्मे बुढा’ को भूमिका निर्वाहा गरेपछि एकाएक चर्चामा आएका कलाकार विल्सन विक्रम राईको पछिल्लो समय फिल्ममा व्यस्तता बढ्दो छ । फिल्ममा उनी भएपछि हलमा दर्शक बाँध्न गाह्रो नहुने सोचाइ मेकरमा व्याप्त छ । पर्फेक्ट कमिक टाइमिङले दर्शकलाई हँसाउन सिपालु उनको नयाँ फिल्म ‘कबड्डी कबड्डी कबड्डी’ यही शुक्रबारबाट प्रदर्शनमा आउँदैछ । 
 
यो फिल्ममा उनी ‘धनकाजी’ को भूमिकामा छन् । ‘कबड्डी’ को अघिल्ला दुई सिरिजमा अभिनेता दयाहाङ राई काजीको भूमिकामा थिए । यसपटक विल्सन पनि काजीको रुपमा फिल्ममा भित्रिएका छन् । ट्रेलरमा अभिनेत्री उपासना सिंह ठकुरीलाई पाउन दुईबीच भएको घम्साघम्सी देख्न सकिन्छ । विल्सन ‘कबड्डी’ सिरिजमा पहिलो पटक आबद्ध हुन पाउँदा खुसी लागेको बताउँछन् । 
 
अहिले फिल्मको प्रचारमा गतिलैसँग खटिएका उनले सोमबार राजधानीमा आयोजित पत्रकार भेटघाटमा ‘कबड्डी कबड्डी कबड्डी’ मा काम गर्दाको अनुभव साझेदार गरे । ‘कबड्डी’ ब्रान्डसँग आबद्ध हुँदा एकदमै चुनौती महशुस गरेको बताउँदै उनले फिल्ममा काम गर्दा आफूले धेरै सिक्ने अवसर पाएको बताए । फिल्ममा आफूलाई दर्शकले फरक भूमिकामा देख्न पाउने उनी बताउँछन् । 
 
 
यसअघि उनले अभिनय गरेका फिल्ममा ‘तक्मे बुढा’ कै ह्याङओभर देखिएको थियो । तर, यो फिल्ममा त्यसको छाँया समेत नदेखिने उनको दाबी छ । उनी भन्छन्, ‘म जब फिल्म गर्थेँ तब निर्देशकले ‘तक्मे बुढा’ नै खोज्नुहुँदो रैछ । मैले पनि त्यही दिने रैछु र त्यही चिजमा वाहवाही हुँदो रैछ । तर, यसपटक के सजिलो भयो भने यो फिल्ममा ‘तक्मे बुढा’ चाहिएको थिएन । धनकाजी चाहिएको थियो ।’ 
 
‘कबड्डी कबड्डी कबड्डी’ गरेपछि राम्रोसँग स्क्रिप्ट पढेर मात्र फिल्म गर्नुपर्ने आफूमा चेत पलाएको उनले बताए । यसअघि आफूले कैयन् पटक पैसा राम्रो पाएपछि राम्रोसँग स्क्रिप्ट नै नहेरी फिल्म गरेको उनी सुनाउँछन् । ‘हामी चेकको जिरो चाहिँ राम्रोसँग पढ्छौं तर कथाको एउटा अक्षर पनि राम्रोसँग पढ्दैनौं’, उनले भने- ‘तर यो फिल्ममा त म सेटमा गएर पनि कथा पढ्थेँ, जुन यसअघि मैले कहिल्यै गरेको थिइनँ ।’
 
के त्यसो भए कलाकारहरु पैसामुखी भएका हुन् ? पत्रकारको प्रश्नमा उनले भने, ‘म अरु कलाकारको त भन्न सक्दिनँ । तर, म चाहिँ पैसामुखी भएको रहेछु । पहिला म चेकमा कतिवटा जिरो छ भन्ने मात्र हेर्थेँ तर कथा राम्रोसँग पढ्दिन थिएँ । तर, ‘कबड्डी कबड्डी कबड्डी’ पछि भने म सिरियस भएको छु । फिल्म गर्नुअघि कथा पढ्नै पर्ने रैछ भन्ने महशुस भएको छ ।’ 
 
यो फिल्ममा उनीसँगै दयाहाङ राई, उपासना सिंह ठकुरी, कर्मा शाक्य, बुद्धि तामाङ, माओत्से गुरुङ, विजय बराल, रिश्मा गुरुङ, कमलमणी नेपाल, अरुणा कार्कीलगायतका कलाकारहरुको पनि अभिनय छ । रामबाबु गुरुङ निर्देशित फिल्मले स्वजातिय विवाह र अन्तर्जातिय प्रेम सम्बन्धको अन्तरद्वन्द्वको कथामा वाचन गरेको छ । शैलेन्द्र डि. कार्कीले फिल्म खिचेका हुन् । 
Most Visited News (monthly)