Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(100 votes, avg 5.00/5.00)
Text size:-
+
-

ब्रान्ड प्रवर्द्धनमा पुष्पको बढ्दो माग

फिल्मीखबर, काठमाडौं, 2019/09/17
गएको दुई वर्ष अगाडि प्रदर्शनमा आएको नारी संवेदनामाथि फिल्म बनाउन सिपालु मानिने नवल नेपाल निर्देशित फिल्म ‘मंगलम’ बाट अभिनेता पुष्प खड्का लाइमलाइटमा आए । यसमा उनले निर्वाहा गरेको भूमिका र अभिनयको सर्वत्र प्रशंसा भएको थियो । अभिनयको हिसाबले ‘मंगलम’ उनको तेस्रो फिल्म थियो । तर, उनको करिअरका लागि यो फिल्म कोशेढुंगा सावित भएको थियो ।  
 
सो फिल्मले उनलाई उत्कृष्ट अभिनेताको विधामा राष्ट्रिय अवार्ड समेत दिलायो । डेब्यू फिल्म ‘अझै पनि’ र लिड हिरोको रुपमा डेब्यू गरेको फिल्म ‘दर्पण छाँया २’ बाट निराशा भोगेका उनलाई ‘मंगलम’ ले अहिलेका चल्तीका अभिनेताको सूचीमा उभ्याएको छ । उनलाई फिल्ममा लिन चाहने मेकरको लाम पछिल्लो केही समययता लामै छ । तर, उनी फिल्म छनोटमा हतार गरेर फुर्सदमा पछुताउने पक्षमा छैनन् । 
 
यस वर्षको सुरुवातमा उनको प्रमुख भूमिका रहेको फिल्म ‘दाल भात तरकारी’ प्रदर्शनमा आएको थियो । यो फिल्मले कमजोर समीक्षाका बावजुद पनि बक्सअफिसमा राम्रो कलेक्सन गर्‍यो । तर, पुष्पको अभिनयको कुनै प्रशंसा भएन । बरु, फिल्म छनोटलाई लिएर उनीमाथि प्रश्न उठ्यो । अभिनेता पुष्पको यस वर्षका लागि दोस्रो फिल्म ‘मारुनी’ अहिले हलमा प्रदर्शनरत छ । 
 
यो फिल्ममा आफ्नो कामको वाहवाही हुनेमा अभिनेता पुष्प विश्वस्त थिए । तर, नतिजा उल्टो आयो । फिल्मबाट उनले अभिनयको प्रशंसा बटुल्न सकेनन् । जसले गर्दा यो फिल्मका लागि उनले नृत्य, एक्सन र शरीरलाई आकर्षक बनाउन गरेको मेहनत पनि छाँयामा पर्‍यो । तर, यो फिल्मले उठाएको विषयवस्तुको भने निकै प्रशंसा भइरहेको छ । फिल्मको क्लाइमेक्स तारिफयोग्य छ । 
 

चाँडै नयाँ फिल्ममा अनुबन्ध हुने तरखरमा रहेका अभिनेता पुष्पको अहिले फिल्मसँगै व्यावसायिक उत्पादनको प्रवर्द्धनमा पनि माग बढ्दो छ । आइतबार उनी ‘केटिएम जिन्स’ को ब्रान्ड एम्बास्डरमा दुई वर्षका लागि नियुक्त भएका छन् । उनले यसका लागि ७ लाख पारिश्रमिक बुझेको जानकारी प्राप्त छ । हालै उनले ‘डिसहोम’ को एक दशैं लक्षित विज्ञापनमा पनि काम गरिसकेका छन् । 
 
स्वदेशी उत्पादनलाई प्रवर्द्धन गर्ने उद्येश्यले आफू ‘केटिएम जिन्स’ सँग आबद्ध भएको पुष्प बताउँछन् । सबै नेपालीले स्वदेशी उत्पादनको प्रवर्द्धनलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने उनको भनाई छ । अब उनलाई फिल्ममा काम गर्दा ‘केटिएम जिन्स’ ले पहिरन उपलब्ध गराउनेछ । उनी आफू स्वदेशी उत्पादनसँग जोडिन पाउँदा खुसी लागेको बताउँछन् । ‘मारुनी’ रिलिजसँगै अहिले उनी भिडियोमा व्यस्त छन् । 
Most Visited News (monthly)