
‘लुट’ सिरिजका निर्माता माधव वाग्लेले फिल्म निर्देशनमा डेब्यू गर्ने भएका छन् । आधा दर्जन बढी फिल्मको निर्माण गरिसकेका उनले निर्देशन गर्ने फिल्मको नाम ‘पारस : द अनलक्की म्यान’ जुराइएको छ । आइतबार उनले आफ्नो आधिकारिक फेसबुकबाट फिल्मको घोषणा गरे । फिल्मले एक अनलक्की पुरुषको कथा भन्नेछ ।
आउँदो मंसिरबाट छायांकनमा जाने फिल्मका लागि केही लिड कलाकारको टुंगो लागिसकेको छ । फिल्मको टाइटल क्यारेक्टरमा अभिनेता तथा ‘लुट’ सिरिजका निर्देशक निश्चल बस्नेत देखिनेछन् । उनीसँगै फिल्ममा कलाकार सन्दीप क्षेत्री पनि फाइनल भएका छन् । यो फिल्मबाट अभिनेत्रीमा समीक्षा पोखरेलले डेब्यू गर्दैछिन् ।
छायांकन सुरु नहुँदै निर्माता वाग्लेले फिल्मको प्रदर्शन मिति पनि घोषणा गरेका छन् । उनले यो फिल्म यस वर्ष (२०७६) को चैत २८ गते प्रदर्शनमा आउने बताए । हाल फिल्मको स्क्रिप्टलाई अन्तिम रुप दिने काम भइरहेको जानकारी प्राप्त छ । एक दशकदेखि निर्माताको रुपमा बटुलेको अनुभवबाट फिल्म निर्देशन गर्न लागेको निर्माता वाग्ले बताउँछन् ।
निर्माता सधैं मुर्गा मात्र हुने तर फाइदा कलाकार र निर्देशकलाई हुने हुँदा आफू फिल्म निर्देशनमा उत्रिन लागेको उनले बताए । ‘फिल्ममा लगानी गर्ने व्यक्ति सधैं छाँयामा पर्छ । मिडियाले पनि कलाकार र निर्देशकलाई मात्र स्थान दिन्छ । यो लोभले गर्दा पनि निर्देशक बन्न लागेको हुँ’, उनले भने । उनी यो फिल्म आफैंमाथि एक प्रयोग पनि हुने बताउँछन् ।
रोचक संयोग चाहिँ के जुरेको छ भने ‘लुट’ सिरिजलाई निर्माता वाग्लेले निर्माण गरेका थिए भने निर्देशन निश्चलले गरेका थिए । अब, ‘पारस’ मा निर्माता वाग्लेको एक्सन-कटमा निश्चलले काम गर्दैछन् । पर्दामा दुईको जुगलबन्दी हेर्न निकै रोचक हुने देखिन्छ । ‘लुट २’ पछि उनीहरुको सम्बन्ध विग्रिएको चर्चा चलेको थियो । तर, ‘पारस’ मा भएको दुईको टिमअपले त्यसलाई गलत प्रमाणित गरेको छ ।

