Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

सन्नीको ‘पासवर्ड’ कस्तो चल्यो ?

फिल्मीखबर, काठमाण्डौ, 2019/09/15
शुक्रबारबाट बलिउड अभिनेत्री सन्नी लियोनीले कम्मर कर्माएको नेपाली फिल्म ‘पासवर्ड’ प्रदर्शनमा आएको छ । प्रदर्शनको अघिल्लो दिन राजधानीमा तामझामका साथ फिल्मको प्रिमियर गरिएको थियो । जहाँ अभिनेत्री सन्नी पनि उपस्थित भएकी थिइन् । उनी यही फिल्मको प्रिमियरमा सहभागी हुनका लागि भारतबाट नेपाल आएकी थिइन् । गीतमा नाच्न भारतबाट लण्डन पुगेकी थिइन् । 
 
 
नेपालमा उनलाई पछ्याउने दर्शकको संख्या ठूलो भएका कारण ‘पासवर्ड’ ले घरेलु बजारमा राम्रो पैसा छाप्ने अपेक्षा निर्माण टिमको थियो । तर, फिल्मलाई प्रदर्शनको दिनदेखि नै दर्शकको खडेरी लागेको छ । शुक्रबार र शनिबार फिल्मले औसत व्यापार पनि गर्न नसकेको रिपोर्ट प्राप्त छ । बरु, यो फिल्मभन्दा राम्रो व्यापार शुक्रबारबाटै प्रदर्शनमा आएको अभिनेता जयकिशन बस्नेतको फिल्म ‘हिरो नम्बर वान’ ले गरेको छ । 
 
‘पासवर्ड’ को गीतमा नचाउन निर्माण टिमले सन्नीलाई २ करोड भारु तिरेको चर्चा छ । प्रिमियरमा उनलाई झिकाउन पनि निर्माण टिमले ठूलो रकम खर्च गर्‍यो । तर, फिल्मले सन्नीको खर्च त परको कुरा हलबाट पोस्टरको समेत पैसा उठाउन नसक्ने देखिएको छ । फिल्म नै कमजोर बनेको छ भने विश्व प्रख्यात सेलिब्रेटीलाई अभिनय गराउँदैमा महँगो टिकट काटेर दर्शक हल जाँदैनन् भन्ने एउटा गतिलो उदाहरण बनेको छ, ‘पासवर्ड’ ।
 
यसअघि निर्माता नकिम उद्यिमले पनि हलिउड र बलिउडका कलाकारलाई लिएर फिल्म ‘द म्यान फ्रम काठमाण्डू’ निर्माण गरेका थिए । फिल्ममा अमेरिकी अभिनेता जोसे म्यानुअल, बलिउड अभिनेता गुल्सन ग्रोवरलगायतको अभिनय थियो । तर, फिल्म हलमा नराम्रोसँग डुब्यो । किनकि, फिल्म नै कमसल थियो । विदेशी कलाकारलाई अभिनय गराउँदैमा फिल्म चल्छ भन्ने भ्रमबाट नेपाली निर्माता मुक्त हुन जरुरी छ । 
 
‘पासवर्ड’ मा बलिउड अभिनेत्री सन्नीको नृत्यसँगै अभिनय पनि रहेको भन्दै निर्माण टिमले ठूलै हल्लाखल्ला गरेको थियो । तर, फिल्ममा उनको अभिनय छैन । एक आइटम गीतमा नृत्य मात्र गरेकी छन् । प्रिमियरमा सुखद प्रतिक्रिया मिलेको हुन्थ्यो भने पनि फिल्मको व्यापारमा धेरथोर प्रभाव पर्ने थियो । तर, फिल्मले प्रिमियरमा न फिल्मकर्मी र पत्रकारबाट गतिलो प्रतिक्रिया पायो न त दर्शकबाट नै । 
 
 
फिल्ममा नेगेटिभ भूमिकामा रहेका अभिनेता अनुपविक्रम शाहीको अभिनय प्रशंसायोग्य छ । उनी फिल्मका मेरुदण्ड हुन् । रविन्द्र झा, बुद्धि तामाङ, प्रविण खतिवडाले पनि राम्रो अभिनय पस्किएका छन् । फिल्मको अर्को राम्रो पक्ष भनेको एक्सन र छायांकन होे । निर्देशक समेत रहेका सम्राट बस्नेतको द्वन्द्व निर्देशन प्रशंसनिय छ । छायाँकार सौरभ लामाले फिल्मको भाव अनुकुल दृश्य कैद गरेका छन् । फिल्मको कथावस्तु र प्रस्तुती सबैभन्दा कमजोर छ । 
Most Visited News (monthly)