पछिल्लो समय नेपाली फिल्मका गीतमा पुराना चर्चित गीतलाई रि-एरेञ्ज गर्ने चलन बढेको छ । यसैक्रममा दशैंको घटस्थापना (असोज १०) बाट प्रदर्शनमा आउन लागेको भेट्रान निर्देशक अशोक शर्मा निर्देशित फिल्म ‘रातो टिका निधारमा’ मा पनि दशक अगाडिको सुपरहिट फिल्म ‘अल्लारे’ को सदाबहार गीत ‘रातो टीका निधारमा टलक्क टल्कियो’ लाई रि-एरेञ्ज गरेर राखिएको छ । शुक्रबार निर्माण टिमले यो गीतको रिमेक भर्सन सार्वजनिक गरेको छ ।

गीतको ओर्जिनल भर्सनमा उमेश पाण्डे र रमना श्रेष्ठको स्वर छ । रिमेक भर्सनमा गायक प्रमोद खरेल र गायिका मेलिना राईले स्वर भरेका छन् । पुरानो गीतमा संगीत भरेका शम्भुजित बाँस्कोटाले नै यो गीतलाई रि-एरेञ्ज गरेका हुन् । गीतका वास्तविक सर्जक शहदेव ढुंगाना हुन् । बसन्त श्रेष्ठको कोरियोग्राफी रहेको गीतमा अभिनेत्री साम्राज्ञी आरएल शाह र नव-अभिनेता अंकित शर्मा फिचर्ड छन् । गीतले दशैं नजिकिएको भान गराउँछ ।
गीतको अडियो बलियो छ । गायक प्रमोद र गायिका मेलिनाको स्वरले मन्त्रमुग्ध बनाउँछ । संगीतकार बाँस्कोटाले पुरानो गीतको मर्म मर्न दिएका छैनन् । गीतको भिडियो भने औसत छ । कोरियोग्राफर श्रेष्ठले गीतको भावअनुसार कलाकारलाई प्रस्तुत गर्न नसकेको देखिन्छ । अभिनेत्री साम्राज्ञीको नृत्यले भने ध्यान खिच्न सक्छ । यो गीतको पुरानो भर्सनमा अभिनेता राजेश हमाल र अभिनेत्री करिश्मा मानन्धरले ठुम्का लगाएका थिए ।
गीतको भिडियोमा अंकित र साम्राज्ञीसँगै रविन्द्र झा, नीता ढुंगाना, खुस्बु खड्का, बुद्दि तामाङ, बसुन्धरा भुषाल, शिवहरि पौडेल, अरुणा कार्कीलगायतका कलाकार पनि अटाएका छन् । फिल्मले वैदेशिक रोजगारीको कथा वाचन गरेको छ । अभिनेत्री साम्राज्ञीले यो फिल्ममा पहिलो पटक गाउँले भूमिका निर्वाहा गरेकी छन् । निर्देशक अशोक शर्माका छोरा अंकितले यही फिल्मबाट डेब्यू गरेका हुन् । उनी फिल्मलाई लिएर उत्साहित देखिए ।
ए.ए ग्रुप अफ कम्पनीजबाट निर्माण भएको फिल्ममा किरण शर्मा र कृति शर्माले लगानी गरेका छन् । फिल्ममा शम्भुजित बाँस्कोटा र कल्याण सिंहको संगीत, बसन्त श्रेष्ठको कोरियोग्राफी, पुरुषोत्तम प्रधानको छायांकन, मित्र देव गुरुङको सम्पादन, राजेश शाहको भिएफएक्स छ । फिल्मलाई निर्देशक शर्माकी श्रीमती किरन शर्मा र छोरी कृति शर्माले निर्माण गरेका हुन् । फिल्मलाई उत्कृष्ट बनाउन कुनै कसर नछाडेको निर्देशक शर्मा बताउँछन् ।
गीत हेर्नुहोस् :-

