करीब ५ वर्ष अगाडि प्रदर्शनमा आएको दीपेन्द्र के. खनाल निर्देशित फिल्म ‘चपली हाइट’ ले बक्सअफिसमा राम्रो पैसा छापेको थियो । इन्टिमेट सिन समेटिएका कारण यो फिल्मको चर्को आलोचना भए पनि वर्षौदेखि एक्सन र रोनाधोन फिल्मबाट आजित भएका दर्शकलाई यसले नयाँ स्वाद पस्कने प्रयत्न गरेको थियो । फिल्ममा अभिनेत्री विनिता बरालले दिएको बोल्ड सिनको अझै चर्चा हुन्छ ।
.jpg)
.jpg)
पहिलो श्रृंखलाले निर्मातालाई राम्रै नाफा दिलाए पनि दोस्रो सिरिज बक्सअफिसमा खरो उत्रन सकेन । किनकि, ‘चपली हाइट’ पछि नेपाली फिल्ममा इन्टिमेट सिन समेटिएका फिल्मको बाढी नै लागेको थियो । बोल्ड सिन राखेपछि फिल्म चल्छ भन्ने सोचाइले ‘चपली हाइट’ शैलीका फिल्म थुप्रै बने । त्यसले दर्शकलाई आजित तुल्यायो । फलतः ‘चपली हाइट’ को सिरिज नै आफूले खनेको खाल्टोमा आफैं पर्यो ।
‘छक्का पञ्जा’ ले बक्सअफिसमा जबरजस्त व्यापार गरेपछि भने पछिल्लो समय ‘चपली हाइट’ जस्ता फिल्म बन्न कम भएका छन् । अहिले कमेडी फिल्मको बोलबाला बढ्दो छ । यसबीच, निर्माता अर्जुन कुमारले एडल्ट सिरिजको छाप बनाएकोे फिल्म ‘चपली हाइट’ को तेस्रो श्रृंखलाको निर्माण घोषणा गरेका छन्, निर्देशक परिवर्तन गरेर । तेस्रो पार्टलाई निकेश खड्काले निर्देशन गर्नेछन् । उनले यसअघि ‘फाटेकोे जुत्ता’ को निर्देशन गरेका थिए ।
 (1).jpg)
 (2).jpg)
तिहारपछि छायांकन सुरु हुने फिल्ममा अभिनेत्री स्वस्तिमा खड्का, नव-अभिनेता महेश त्रिपाठी, अभिनेत्री सुपुष्पा भट्ट, नव-अभिनेता प्रतिक श्रेष्ठ र अभिनेता आमिर गौतमको प्रमुख भूमिका रहनेछ । यो फिल्मका लागि अभिनेत्री स्वस्तिमाको रोलमा सबैभन्दा अगाडि अभिनेत्री साम्राज्ञी आरएल शाहलाई अफर गरिएको थियो । तर, उनले फिल्मको नाम परिवर्तन गर्न आग्रह गरेपछि निर्माण टिमसँग कुरा बनेन ।
‘चपली हाइट’ नामलाई लिएर दर्शकमा फरक दृष्टिकोण बनेका कारण करिअरमा असर पर्ने भएपछि उनले फिल्मको नाम परिवर्तन गर्न आग्रह गरेकी थिइन् । तर, स्वस्तिमा भने कथावस्तु राम्रो लागेका कारण काम गर्न राजी भएको बताउँछिन् । फिल्मको घोषणा सभामा उनले भनिन्, ‘म फिल्म गर्नुभन्दा अगाडि टिम हेर्छु अनि स्क्रिप्ट । यसपटक चाहिँ स्क्रिप्ट पढ्दा नै यो फिल्म गर्न लोभिएँ ।’
.jpg)
.jpg)
फिल्मको नामले करिअरमा कुनै असर नगर्ने उनको भनाई छ । उनले ‘चपली हाइट ३’ मा सेक्स कन्टेन्ट नभएको पनि स्पष्ट पारेकी छन् । उनका अनुसार, यो फिल्म क्राइम थ्रिलर जनरामा निर्माण हुनेछ । गत वर्ष प्रदर्शनमा आएको फिल्म ‘रणवीर’ बाट अभिनयमा राम्रो सम्भावना देखाएकी अभिनेत्री सुपुष्पाले पनि फिल्मको कथावस्तु राम्रो लागेर काम गर्न राजी भएको बताइन् ।

