
अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) ले आउँदो असोज २७ गते काठमाडौंमा छैठौं ‘इनास फिल्म अवार्ड’ गर्ने भएको छ । एक प्रेस विज्ञप्ती जारी गर्दै इनासले यस विषयको जानकारी गराएको हो । उक्त अवार्ड काठमाडौंको कमलादीको नेपाल प्रज्ञा–प्रतिष्ठानमा हुने इनासका चलचित्र प्रवर्द्धन समिति संयोजक मनिष कुमार श्रेष्ठले हस्ताक्षर गरेको विज्ञप्तीमा भनिएको छ ।
इनासले यसपटक बरिष्ठ संगीतकार रञ्जित गजमेरलाई 'लाइफटाइम अचिभमेन्ट अवार्ड' बाट सम्मानित गर्ने भएको छ । थुप्रै नेपाली फिल्मका गीतमा एकसेएक संगीत भरेका उनको योगदानको कदर गर्दै उक्त अवार्डबाट सम्मानित गर्न लागिएको विज्ञप्तीमा उल्लेख छ । कार्यक्रमलाई सभ्य र भव्य बनाउने तयारी सुरु गरिएको संयोजक श्रेष्ठले विज्ञप्तीमार्फत् जानकारी दिए ।
नेपाल सरकारले घोषणा गरेको 'नेपाल भ्रमण वर्ष- २०२०' लाई सहयोग पुर्याउने उद्येश्यले आयोजना गर्न लागिएको इनास अवार्डमा सयौँको संख्यामा एनआरएनहरुको उपस्थिति रहने बताइएको छ । ‘ममता र समर्पण मातृभूमिको लागि’ भन्ने नाराका साथ आयोजना गर्न लागिएको यो अवार्ड यसअघि जर्मनी, नेदरल्याण्डस, सिक्किम र नेपालको काठमाडौंमा भइसकेको छ ।

