गत वर्ष प्रदर्शनमा आएको फिल्म ‘बुलबुल’ ले घरेलु बजारबाट निर्माताको लगानी उठाउन सकेन । तर, फिल्मले समीक्षात्मक सफलता हासिल गर्न सफल भयो । फिल्मले उठाएको विषयवस्तु, कलाकारको अभिनय र प्रस्तुतीको निकै तारिफ भएको थियो । वैदेशिक रोजगारीमा गएका श्रीमानको प्रतिक्षामा बसेकी एक श्रीमतीले टेम्पो चलाएर कसरी रोगी ससुराको उपचार खर्च र एक छोरीको स्यारसुसार गर्छिन् भन्ने कथामा फिल्म आधारित थियो ।
फिल्ममा अभिनेत्री स्वस्तिमा खड्का प्रमुख भूमिकामा थिइन् । फिल्मको मूलकथा नै उनको वरिपरि घुमेको थियो । टेम्पो चलाएर रोगी ससुरा उपचार खर्च र एक छोरीको हरेक इच्छा चाहना पूरा गर्दै आएकी एक गृहणीको भूमिकालाई उनले जीवन्त रुपमा पस्किएकी थिइन् । यो फिल्मबाट उनले सार्क फिल्म फेस्टिवलमा उत्कृष्ट अभिनेत्रीको जुरी अवार्ड र राष्ट्रपति विद्यादेवी भण्डारीबाट उत्कृष्ट अभिनेत्रीको नेशनल अवार्ड चुमिन् ।
विनोद पौडेल निर्देशित फिल्म ‘बुलबुल’ बाट आफूलाई भर्सटायल अभिनेत्रीको रुपमा चिनाएकी उनको नयाँ फिल्म 'हजार जुनीसम्म' गएको साउनमा प्रदर्शनमा आएको थियो । तर, यो फिल्ममा उनको अभिनयले दर्शक र समीक्षक दुबैलाई निराश बनायो । उनको भूमिका पनि सम्झनलायक थिएन । उनीबाट राम्रो काम निकाल्न निर्देशक चुकेका हुन् वा नेशनल अवार्ड पाएपछि उनले नै अभिनयमा हेलचेक्राइ गरेकी हुन् ? भगवान जानुन् ।
.jpg)
तर, यही स्तरको पात्र र अभिनयले राष्ट्रिय अवार्ड विजेता अभिनेत्रीको साख नजोगिने व्यापक टिका-टिप्पणी भएपछि अभिनेत्री स्वस्तिमाले आफू ‘हजार जुनीसम्म’ मा केही कुरामा चुकेको स्वीकार गरेकी छन् । तर, राष्ट्रिय अवार्ड पाउँदैमा राम्रो काम गर्नुपर्छ भन्ने आफूलाई नलाग्ने उनको तर्क छ । कलाकार भएको नाताले राम्रो काम गर्नु आफ्नो दायित्व रहेको उनी बताउँछिन् । नयाँ फिल्ममा आफ्नो तर्फबाट राम्रो काम गर्न कुनै कसर नछाड्ने उनको दाबी छ ।
मंगलबार राजधानीमा आयोजित फिल्म ‘चपली हाइट ३’ को घोषणा सभामा पत्रकारको प्रश्नको जवाफ दिँदै उनले भनिन्, ‘राष्ट्रिय अवार्ड पाएँ अब राम्रो काम गर्नुपर्छ, राष्ट्रिय अवार्ड पाएको छैन त्यही भएर राम्रो काम गर्नुहुन्न भन्ने म कहिल्यै सोच्दिनँ । कलाकार भएपछि राम्रो काम गर्नु मेरो जिम्मेवारी हो । पहिल्यै राष्ट्रिय अवार्ड पाएको भए ‘हजार जुनीसम्म’ मा राम्रो गर्थे भन्ने पनि होइन । म सबैमा आफ्नो तर्फबाट उत्कृष्ट दिने प्रयास गर्छु ।’
फिल्ममा काम गर्दा राष्ट्रिय अवार्ड जोड्नु आफ्नो लागि प्रेसर मात्र हुने उनी बताउँछिन् । एडल्ट फिल्मको ट्याग लागेको ‘चपली हाइट’ को तेस्रो सिरिजमा प्रमुख भूमिका निभाउन लागेकी उनले स्क्रिप्ट राम्रो लागेका कारण काम गर्न राजी भएको बताइन् । ‘चपली हाइट ३’ मा सेक्स कन्टेन्ट नभएको उनको दाबी छ । क्राइम थ्रिलर जनरामा बन्न लागेको फिल्मको तिहारपछि छायांकन सुरु हुँदैछ । फिल्मलाई निकेश खड्काले निर्देशन गर्दैछन् ।

