अभिनय राम्रै हुँदैमा सबैले सफलता पाउँछन् भन्ने ग्यारेन्टी छैन । यदी यसो हुन्थ्यो भने अभिनेत्री शिल्पा मास्केले असफलतासँग घम्साघम्सी नै गर्नु पर्दैन थियो । उनी राम्रो अभिनय गर्ने अभिनेत्रीको रुपमा चिनिन्छन् । फिल्म क्षेत्रलाई पनि उनले राम्रोसँग बुझेकी छिन् । तर, उनलाई नेपाली फिल्ममा आफूलाई स्थापित गर्न निकै सकस भइरहेको छ । किनकि, उनका लगातार तीन फिल्म बक्सअफिसमा नराम्रोसँग डुबे ।
यूके रैनाथे उनले लभस्टोरी फिल्म बनाउन सिपालु मानिने निर्देशक हेमराज विसी निर्देशित फिल्म ‘द ब्रेकअप’ बाट डेब्यू गरिन् । अनमोल केसीलाई सुपरस्टार बनाएका निर्देशकले शिल्पाको करिअरलाई उचाइ दिलाउन भने सकेनन् । डेब्यू फिल्मले हलमा पानी भन्न पाएन । यद्यपि, उनको अभिनय भने रुचाइएको थियो । तर, डेब्यू फिल्म नै बक्सअफिसमा असफल हुँदा उनीमाथि गिनेचुनेका ब्यानरको नजर पर्न सकेन ।
(1).jpg)
उनको दोस्रो फिल्म ‘कागजपत्र’ गत वर्ष प्रदर्शनमा आएको थियो । तर, यो फिल्मबाट पनि उनी सफलताबाट बञ्चित भइन् । फिल्म बक्सअफिसमा डिजास्टर सावित भयो । यद्यपि, उनको अभिनयको भने प्रशंसा भएको थियो । यस वर्षको असार अन्तिममा उनको तेस्रो फिल्म ‘सानो मन’ प्रदर्शनमा आएको थियो । यो फिल्मले आफ्नो फ्लप श्रृंखलामा पूर्णविराम लगाउनेमा उनी विश्वस्त थिइन् । तर, नतिजा पुरानै दोहोरियो ।
उनको अभिनय रुचाइए पनि फिल्मले भने पोस्टरको पैसा समेत उठाएन । दुई वर्षको अन्तरालमा तीन फिल्म असफलता हुँदा उनको फिल्मी करिअरमा ठूलो धक्का लागेको छ । फ्लप फिल्ममा ह्याट्रिक गरेकी उनलाई अब हातमा फिल्म पर्ने हो वा होइन भन्ने चिन्ताले सताउन थालेको छ । अहिले उनलाई फिल्म अफर हुन छाडेको चर्चा छ । कतिपयले उनी अब फिल्म छाडेर लण्डन नै फर्किने अनुमान लगाएका छन् ।
एउटा कलाकारलाई उचाइ दिलाउन फिल्मको व्यापारिक सफलता निकै महत्त्वपूर्ण मानिन्छ । असफलताको श्रृंखला नरोकिए कुनै पनि कलाकारलाई फिल्म क्षेत्रमा करिअर अगाडि बढाउन गाह्रो हुन्छ । यो कुरा अहिले अभिनेत्री शिल्पाले भन्दा अरु कसले बुझ्छ होला र ! फिल्म छनोटमा चुक्दा असफलताको हिस्सेदारी हुनु परेको यथार्थलाई स्वीकार गरेकी उनी अब केही समय फिल्मबाट ब्रेक लिने सोचमा छिन् । आशा गरौं, उनको विश्राम फिल्म छान्नका लागि हुनेछ ।

