तीजको छेकोमा प्रदर्शनमा आएको अभिनेत्री साम्राज्ञी आरएल शाह र अभिनेता पुष्प खड्का स्टारर फिल्म ‘मारुनी’ शुक्रबारबाट दोस्रो सातामा प्रदर्शनरत छ । फिल्मलाई सुरुवाती दिनमा बक्सअफिसमा टिक्न निकै सकस परेको थियो । साउथ सुपरस्टार प्रभास अभिनीत फिल्म ‘साहो’ का कारण फिल्मको इनिसियल व्यापारमा ठूलो धक्का पुग्यो । तर, ‘साहो’ को माउथ पब्लिसिटी कमजोर हुँदा त्यसको फाइदा ‘मारुनी’ ले उठाएको छ ।
यो फिल्मको ‘वर्ड अफ माउथ’ बलियो छ । फिल्म हेर्ने दर्शकले नाक खुम्च्याएका छैनन् । समीक्षकबाट पनि फिल्मको तारिफ भइरहेको छ । फिल्मको विकेन्ड कलेक्सनमा ‘साहो’ ले ठूलो असर गरेको भएता पनि अहिले ‘मारुनी’ ले हलमा दर्शक बढाउँदै लगेको छ । पहिलो हप्ताको सोमबारबाट फिल्मको व्यापार बढेको वितरकले बताएका छन् । लगानी नै नउठ्ने डरले निराश भएका यसका निर्माता फिल्मको व्यापार बढ्दा खुसी देखिएका छन् ।
(1).jpg)
यो फिल्मले दश दिनमा एक करोड पचास लाख ग्रस कलेक्सन गरेको जानकारी फिल्मीखबरलाई प्राप्त छ । तर, निर्माण टिमले ९ दिनमा नै फिल्मले १ करोड ८५ लाखको व्यापार गरेको दाबी गरेको छ । यो तत्कालै फिल्मलाई हिट देखाउन गरिएको फण्डा मात्र हो । नेपालबाटै लगानी सुरक्षित गर्न ‘मारुनी’ अझै केही हप्ता हलमा टिक्नु पर्ने हुन्छ । मोफसल एमजी र डिजिटल राइट्स जोड्ने हो भने चाहिँ यसै हप्ता निर्माताको लगानी सुरक्षित हुने देखिन्छ ।
निर्मात्री पुनम गौतमका अनुसार, पहिलो हप्ताको सोमबारबाट फिल्मको व्यापारिक रफ्तार एकै किसिमको छ । दर्शकको चाप बढ्न थालेपछि मल्टीप्लेक्सहरुले फिल्मलाई सोज बढाएको उनी बताउँछन् । राजधानी र मोफसलको सिंगल थिएटरमा पनि फिल्मको व्यापार राम्रो रहेको उनले बताइन् । निर्मात्री पुनमले १ करोड ५५ लाखमा फिल्मको निर्माण पूरा भएको बताएकी छन् । यो लगानी उठाउन फिल्मले साढे ३ करोडको व्यापार गर्नुपर्ने हुन्छ ।
नवल नेपाल निर्देशित ‘मारुनी’ हेर्ने दर्शकले कथावस्तु, क्लाइमेक्स, गीतसंगीत र कलाकारको अभिनय रुचाएका छन् । अघिल्ला फिल्ममा अभिनयको प्रशंसा बटुल्न नसकेकी साम्राज्ञीले यो फिल्ममा मनछुने अभिनय पस्किएकी छन् । फिल्ममा उनको भूमिका निकै शक्तशाली छ । नव-अभिनेत्री रेबिका गुरुङले पनि आफ्नो अभिनय क्षमता देखाएकी छन् । अभिनेता पुष्पको अभिनयले भने निराश बनाएको छ । उनी फिल्ममा खासै जम्न सकेका छैनन् ।

