अभिनेता सौगात मल्ल र पूर्व मिस नेपाल तथा अभिनेत्री श्रृष्टि श्रेष्ठ गएको केही वर्षयता एकअर्काको प्रेममा रमाइरहेका छन् । प्रायः सेलिब्रेटीहरु प्रेम सम्बन्धलाई सकेसम्म ढाकछोप गर्ने प्रयास गर्दछन् । यसले करिअर डुबाउन सक्ने सोचाई उनीहरुमा व्याप्त छ । तर, सौगात र श्रृष्टि भने यो मामलामा उदार छन् । उनीहरुले प्रेम सम्बन्ध लुकाउन आवश्यक ठानेनन् । दुईको सम्बन्ध खुल्ला किताबझैँ छ ।
.jpg)
अचेल सौगात र श्रृष्टि कुनै कार्यक्रममा उपस्थिति हुँदा एकअर्काको हातमा हात बाँधेर पुग्ने गरेका छन् । मिडियाको क्यामेरा अगाडि प्रेमिल तस्वीर खिचाउन पनि उनीहरु हिचकिचाउँदैनन् । दुईले एकअर्कालाई गरेको केयर र मायाले धेरैलाई लोभ्याउने गरेको छ । प्रेमको अथाहा गहिराइमा पौडिरहेका सौगात र श्रृष्टि चाँडै विवाह गर्ने तयारीमा छन् । तर, त्यसका लागि दुबैमा हतारो देखिएको छैन ।
रियल लाइफमा छुटिएर बस्न नसक्ने यी प्रेमिल जोडी अहिले रिल लाइफमा पनि छुटिएर काम गर्न सकेका छैनन् । दुईले पहिलो पटक फिल्म ‘मासु भात’ मा काम गरे । यो फिल्मको रिलिजको टुंगो लागेको छैन । यसपछि दुईले फिल्म ‘पोइ पर्यो काले’ मा काम गरे, जुन आउँदो कात्तिक ८ गते प्रदर्शनमा आउँदैछ । यसमा सौगातले अभिनेत्रीको रुपमा श्रृष्टिलाई सिफारिस गरेको चर्चा छ ।
दुईले फिल्म ‘चपली हाइट ३’ मा काम गर्ने चर्चा पनि चलेको थियो । फिल्ममा सौगात फाइनल नै भएका थिए । तर, श्रृष्टिलाई राम्रो रोल दिन निर्माण टिम तयार नभएपछि उनले फिल्मबाट हात झिकेको जानकारी प्राप्त छ । अब दुईको जोडी फेरि एकपटक पर्दामा देख्न पाइने भएको छ । निर्देशक मधुसुदन भट्टराईको निर्देशनमा बन्न लागेको बेनामे फिल्ममा सौगात र श्रृष्टि अनुबन्ध भएका छन् । फिल्ममा दुईको जोडी बाँधिनेछ ।
सुवानी फिल्मस् प्रा.लिकोे ब्यानरमा निर्माण हुने फिल्मको कथा रंग पत्रकार लक्ष्मण सुवेदीले तयार पारेका छन् । तिहारपछि अष्ट्रेलियाबाट छायांकन सुरु हुने फिल्ममा अन्य कलाकारको छनोट हुन बाँकी रहेको जानकारी प्राप्त छ । केही समययता सौगातले आफू फाइनल भएको फिल्ममा अभिनेत्रीको रुपमा श्रृष्टिलाई सिफारिस गर्ने गरेको चर्चा छ । यो कुरा उनी सहर्ष स्वीकार पनि गर्दछन् ।
सौगात अभिनीत प्रायः फिल्म बक्सअफिसमा असफल छन् । तर, त्यसको असर उनको करिअरमा परेको देखिन्न । उनको हातमा फिल्म टुटेको छैन । किनकि, उनको अभिनयले दर्शकलाई रिझाउने गरेका छन् । जुनसुकै भूमिकामा जीवन्त अभिनय गर्न उनी सिपालु छन् । तर, आजभोली उनले आफूले गर्ने फिल्ममा श्रृष्टिलाई अभिनेत्रीमा सिफारिस गर्न थालेपछि फिल्ममेकरलाई समस्या हुन थालेको छ । तर, सौगातलाई यसको के मतलब !

