
बलिउडका सुपरस्टार सलमान खान र निर्देशक निर्देशक अली अब्बाज जफरको बोन्डिङ कसैसँग लुकेको छैन । दुई निकै मिल्ने मित्र हुन् । यी अभिनेता र निर्देशकको जोडीले 'टाइगर जिन्दा हे', 'सुल्तान' र 'भारत' जस्तो ब्लकबस्टर फिल्म बक्सअफिसमा दिएका छन् । अब सलमानका यी ‘सुपरहिट निर्देशक’ को नजर अभिनेता शाहरुख खानमाथि परेको छ ।
लामो समयदेखि एक हिट फिल्मको प्रतिक्षामा रहेका शाहरुख अब अलीको नयाँ फिल्ममा देखिने फाइनल भएको बताइएको छ । एक वेब पोर्टलका अनुसार, शाहरुखले दुई ठूलो फिल्म गर्ने निर्णय लिएका छन् र दुबै फिल्म अर्को वर्ष फ्लोरमा निस्कनेछन् । सूत्रका अनुसार, उनको एक फिल्म यश राज ब्यानरसँग हुनेछ । यो फिल्मको निर्देशन अली अब्बाज जफरले गर्नेछन् ।
अलीले केही समयदेखि फिल्मको स्क्रिप्टमा काम गरिरहेका छन् । यो एक्सन जनरामा निर्माण हुन लागेको हो । यो अहिलेसम्मकै सबैभन्दा ठूलो एक्सन फिल्म हुने बताइएको छ । सन् १९९३ मा यश राजकै फिल्म ‘डर’ बाट उनले अभिनयमा डेब्यू गरेका थिए । हालै उनले अस्ट्रेलियामा एक अन्तर्वार्ता दिँदै आफूलाई एक्सन फिल्म गर्ने इच्छा रहेको बताएका थिए ।
अलीको एक्सन-कटभन्दा अगाडि शाहरुखले बलिउडका भेट्रान निर्देशक सञ्जय लीला भन्सालीको फिल्म ‘इन्शाअल्लाह’ गर्ने सम्भावना प्रवल छ । यो फिल्ममा सलमान खानको प्रमुख भूमिका रहने फाइनल भएको थियो । तर, आन्तरिक द्वन्द्वका कारण भन्साली र सलमानबीच २० वर्षपछि हुन लागेको सहकार्य टुट्यो । फिल्ममा अभिनेत्रीको रुपमा आलिया भट्ट छिन् ।

