Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘ए मेरो हजुर ४’ मा प्रदीपको सम्भावना कति ?

फिल्मीखबर, काठमाडौं, 2019/09/07
अहिलेका चल्तीका अभिनेता प्रदीप खड्का अभिनीत पछिल्ला कुनै फिल्म बक्सअफिसमा सफल छैनन् । ‘प्रेमगीत’ कै ब्याज खाइरहेका उनको ‘लिलिबिली’, ‘रोज’ र ‘लभ स्टेशन’ ले व्यबसायिक सफलता हात पार्न चुके । तर, फिल्म असफल भए पनि प्रदीप भने राम्रै चलेका छन् । न उनको डिमान्डमा कुनै कमी आएको न त पारिश्रमिक नै घट्दो छ । उनलाई फिल्ममा लिन अहिले निर्माताबीच हानाथाप हुने गरेको छ । 
 
पछिल्लो रिलिज फिल्म ‘लभ स्टेशन’ बाट उनलाई निकै ठूलो आश थियो । भेट्रान निर्देशक उज्ज्वल घिमिरेले क्याप्टेनसिप सम्हालेका कारण धरमराएको फिल्मी करिअर बचाउन ठूलो भूमिका खेल्ने उनको अपेक्षा थियो । तर, फिल्मलाई चोरीको बात लागेपछि दर्शकले हल पुग्ने जाँगरै चलाएनन् । निर्माताको करोडौंको लगानी बालुवामा पानी हालेझैँ भयो । यो फिल्मको असफलताले उनी हच्किएका छन् । 
 
 
अहिले उनी आफूलाई ‘स्टार’ बनाएको फिल्म ‘प्रेमगीत ३’ को तयारीमा छन् । दशैंपछि छायांकन सुरु हुने फिल्म चैत २८ मा रिलिज हुँदैछ । यो फिल्मपछि उनी निर्देशक हेमराज विसीको फिल्म ‘शुभ विवाह’ गर्दैछन्, जसमा अभिनेत्रीको रुपमा साम्राज्ञी आरएल शाह छिन् । यसबीच, अभिनेता प्रदीपलाई नाम नै ब्रान्ड भइसकेको फिल्म ‘ए मेरो हजुर’ को चौथो सिरिजबाट अफर गरिएको छ । यसको अघिल्लो सिरिज पनि उनलाई अफर गरिएको थियो । 
 
अर्को वर्षको दशैंमा प्रदर्शनमा ल्याउने तयारी भइरहेको यस फिल्मका निर्माता सुनिल कुमार थापा र प्रदीपबीच दुईपटक फिल्मको विषयमा कुराकानी भएको स्रोत बताउँछ । निर्माता थापाले उनलाई ‘प्रेमगीत ३’ पछि ‘ए मेरो हजुर ४’ गर्न आग्रह गरेका छन् । उनले हेमराज विसीको फिल्म छाडेर आफ्नो गर्न प्रदीपलाई आग्रह गरेको फिल्मीखबरलाई गोप्य स्रोतले बताएको छ । प्रदीपले भने अहिलेसम्म निर्णय सुनाएका छैनन् । 
 
उनी निकै दोधारमा छन् । प्रदीप न लभस्टोरी फिल्म बनाउन माहिर मानिने हेमराजको फिल्म ‘शुभ विवाह’ न त सुपरहिट फिल्मको सिरिज ‘ए मेरो हजुर ४’ छाड्ने मनस्थितिमा नै छन् । करिअर उकास्न दुबै फिल्मको ठूलो भूमिका रहने हुँदा उनलाई निर्णय लिन निकै कठिन भइरहेको छ । उनको निर्देशक झरना थापासँग भने फिल्मको विषयमा कुरा भएको छैन । ‘ए मेरो हजुर ४’ गरे उनको जोडी सुहाना थापा हुनेछिन् । 
Most Visited News (monthly)