नेपाली फिल्म क्षेत्रमा कलाकारबीच घनिष्ट मित्रता विरलै देख्न पाइन्छ । देखावटी रुपमा उनीहरुको मित्रता लोभलाग्दो देखिए पनि वास्तविकतामा सम्बन्ध ३६ को आँकडामा हुन्छ । त्यसैले मिडियाको अगाडि प्रगाढ सम्बन्ध देखाउँदैमा वास्तविकता पनि त्यस्तै हुन्छ भन्ने सोच्नु गलत हुनसक्छ । कलाकारको सम्बन्ध मिडियाको क्यामेरा अगाडि र पछाडि फरक-फरक हुने गरेको छ ।
.jpg)
तर, केही कलाकारको सम्बन्ध भने वास्तवमै सुमधुर हुन्छ । यसका एक उदाहरण हुन् अभिनेता द्वय पल शाह र पुष्प खड्का । उनीहरुबीच निकै मजबूद सम्बन्ध स्थापित भएको छ । म्यूजिक भिडियोबाट करिअर सुरुवात गरेका दुबै अहिले फिल्ममा व्यस्त छन् । भिडियोको दुनियाँमा पलको एकछत्र राज चलेको समयमा पुष्पको प्रवेश भएको छ । भिडियोमा दुईलाई एकअर्काको प्रतिस्पर्धी भन्ने गरिन्छ ।
पछिल्लो समय फिल्ममा पनि दुईलाई प्रतिस्पर्धीको रुपमा नै हेर्न थालिएको छ । तर, उनीहरुको सम्बन्धमा त्यसको छाँया समेत परेको देखिन्न । केही भिडियोमा एकसाथ काम गरिसकेका दुईले फिल्ममा भने स्क्रिन साझेदारी गर्न पाएका छैनन् । तर, एकअर्काको फिल्मलाई भने उनीहरुले निकै साथ र सहयोग गर्ने गरेका छन् । गएको आइतबार पलले पुष्प अभिनीत फिल्म 'मारुनी' हलमै पुगेर हेरे ।
पललाई फिल्म देखाउन अभिनेता पुष्प उनकै गाडीमा कुमारी हल पुगेका थिए । फिल्म हेरेपछि पलले पुष्पलाई 'प्रिय साथी' को रुपमा सम्बोधन गर्दै अभिनयको मुक्तकण्ठले प्रशंसा गरे । उनले भने, 'पुष्पको अभिनयमा निकै परिपक्वता देखेँ । 'मारुनी' मा निकै राम्रो अभिनय गरेको छ ।' तर, उनले गरेको तारिफ सुन्न पुष्पले पाएनन् । एक टिभिसीको छायांकनका लागि उनी फिल्म पूरा नसकिँदै हलबाट बाहिरिएका थिए ।
.jpg)
फिल्म 'मंगलम' र यसै वर्ष प्रदर्शनमा आएको पुष्पको फिल्म 'दात भात तरकारी' पनि पलले हलमै पुगेर हेरेका थिए । पुष्प पनि पलको फिल्म हेर्न छुटाउँदैनन् । नेपाली कलाकारबीच सुमधुर सम्बन्धको खडेरी रहेको अवस्थामा दुईको मित्रता धेरैका लागि उदाहरणीय बनेको छ । वास्तविक रुपमै सुमधुर सम्बन्ध भएका दुईलाई ठूलो पर्दामा पनि एकसाथ हेर्ने दर्शकको ठूलो इच्छा छ । दुईको इच्छा चाहिँ छ कि छैन कुन्नी ?

