मौलिक कथामा फिल्म बनाउन कहलिएका निर्देशक रामबाबु गुरुङ र अहिलेका चल्तीका अभिनेता प्रदीप खड्काबीच फिल्म ‘बेला’ मा टिमअप हुने निश्चित भएको थियो । फिल्म निर्देशन गर्न रामबाबुले ५० लाख र प्रदीपले ४० लाखको आसपासमा पारिश्रमिक बुझेको चर्चा चलेको थियो । तर, यो फिल्मबाट निर्देशक र अभिनेता दुबैले हात झिकेका छन् ।
निर्देशक गुरुङ असोज ३ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘कबड्डी कबड्डी कबड्डी’ पछि प्रदीपलाई लिएर ‘बेला’ गर्ने तयारीमा थिए । उनले फिल्मको स्क्रिप्टमा काम गरिरहेका थिए । तर, अब उनले यो फिल्म नगर्ने निर्णय लिएका छन् । उनले फिल्म छाड्नुको कारण भने खुल्न सकेको छैन । उनले यो फिल्म छाडेपछि प्रदीपले पनि नगर्ने निर्णय लिएका छन् ।
(1).jpg)
केही महिना अगाडि निर्देशक गुरुङले ‘बेला’ निर्देशन गर्ने जिम्मेवारी ‘कृ’ निर्देशक सुरेन्द्र पौडेललाई सुम्पिएको चर्चा पनि चलेको थियो । तर, दुबै निर्देशकले यसको खण्डन गरेका थिए । फिल्म ‘बेला’ मा रामबाबु र प्रदीपबीच टिमअप हुन नसक्नुको पछाडि सम्बन्धमा आएको तिक्ततालाई प्रमुख मानिएको छ । अहिले दुबै एकअर्काको नाम उच्चारण गर्न पनि नचाहने बताइन्छ ।
‘कबड्डी कबड्डी कबड्डी’ मा अभिनेता कर्माले निर्वाहा गरेको भूमिका निर्देशक रामबाबुले सबैभन्दा अगाडि प्रदीपलाई अफर गरेका थिए । प्रदीप फिल्म गर्न सकारात्मक पनि थिए । तर, अन्तिम समयमा उनले ‘प्रेमगीत ३’ लाई समय दिनुपर्ने भएकाले फिल्म गर्न असमर्थ रहेको बताए । यसपछि निर्देशक गुरुङ र प्रदीपबीच बोलचाल नै बन्द भएको स्रोत बताउँछ ।
यो फिल्ममा अनुबन्ध हुँदा प्रदीपले ‘साइनिङ एमाउन्ट’ को रुपमा केही रकम बुझेका थिए । उनी चाँडै उक्त रकम निर्मातालाई फर्काउँदैछन् । यो फिल्मबाट हात झिकेपछि निर्देशक गुरुङले चाँडै ‘धुर्मुस्-सुन्तली’ ले निर्माण गर्न लागेको फिल्म ‘सेन्टीभाइरस’ सुरु गर्दैछन् । अभिनेता प्रदीपले फिल्म ‘प्रेमगीत ३’ पछि निर्देशक हेमराज विसीको फिल्म ‘शुभ विवाह’ गर्नेछन् ।

