लामो समयदेखि अभिनेता पल शाह र अभिनेत्री आँचल शर्माको प्रेम सम्बन्धको चर्चा चल्दै आएको छ । फिल्म ‘नाईं नभन्नू ल ४’ बाट एकसाथ ठूलो पर्दामा डेब्यू गरेका दुईले फिल्म ‘जोनी जेन्टलम्यान’ र ‘शत्रु गते’ मा पनि सँगै काम गरेका थिए । उनीहरुले साथमा म्यूजिक भिडियो पनि थुप्रै गरेका छन् । दर्शकले दुईको जोडी निकै रुचाउने गरेको पाइन्छ । त्यसैले त दुईलाई भिडियो र फिल्ममा लिन हानाथाप हुने गर्दछ ।

‘जोनी जेन्टलम्यान’ रिलिजको संघारमा रहँदा पल र आँचलको प्रेम सम्बन्धको चर्चा चल्न सुरु भएको थियो । तर, कहिल्यै दुईले यो कुरा स्वीकार गरेनन् । उनीहरु सधैं रेडिमेड जवाफ फर्काउँछन्, ‘हामी मिल्ने साथी मात्र हौं । हामीबीच साथीभन्दा माथिको सम्बन्ध स्थापित भएको छैन ।’ तर, यो मान्न न मिडिया न त दर्शक नै तयार छन् । करिअरलाई असर पर्ने भएकाले दुईले प्रेम सम्बन्ध स्वीकार गर्न नसकेको बताइन्छ ।
‘शत्रु गते’ पछि दुईको म्यूजिक भिडियोमा सहकार्य भए पनि फिल्ममा हुन सकेको छैन । उनीहरु अहिले फरक-फरक प्रोजेक्टमा काम गरिरहेका छन् । पल चाँडै ‘म यस्तो गीत गाउँछु २’ को छायांकनमा व्यस्त हुँदैछन् भने आँचल ‘झिँगेदाउ’ नामक फिल्मको तयारीमा छिन् । दुईले साथमा फिल्म गर्न छाडेपछि अहिले बजारमा उनीहरुको प्रेम सम्बन्धको अन्त्य भएको अडकलबाजी भइरहेको छ । आजभोली आँचल डाक्टर उदीप श्रेष्ठको प्रेममा छिन् ।
उदीपको प्रेममा रमाउन थालेपछि केही दिनदेखि आँचललाई पलका फ्यानले सामाजिक सञ्जालमा गाली-गलौज गरिरहेका छन् । पललाई धोका दिएको भन्दै दर्शक आँचलमाथि खनिएका हुन् । तर, पलले आँचल आफ्नो साथी मात्र रहेको र सधैं रहने बताएका छन् । आइतबार फेसबुकमा लामो स्टाटस लेख्दै उनले आँचलसँग आफ्नो प्रेम सम्बन्ध नभएको प्रस्ट्याउँदै उनलाई गाली-गलौज नगर्न फ्यानलाई आग्रह गरेका छन् ।
‘मेरो शुभचिन्तकहरुले लगातार प्रश्न गरिरहनुभएको छ, आज स्पष्ट पार्न चाहन्छु । आँचल र म सधैं राम्रो साथि थियौं र रहने छौं । सबै अफवाह थियो । केही दिनदेखि सामाजिक सञ्जालमा आँचल जीलाई गाली-गलौज गरेको देखिरहेको छु, त्यसै उहाँको नयाँ जीवन र हाम्रो मित्रतालाई गलत बुझेर सामाजिक सञ्जालमा उहाँलाई गाली नगरिदिनुहोला’, उनले लेखेका छन् । आँचलसँग साथीभन्दा माथिको सम्बन्ध नभएको उनको भनाई छ ।
उनी अगाडि लेख्छन्, ‘उहाँको नयाँ जीवनको खबरलाई मसँग जोडेर सामाजिक सञ्जालमा कमेन्ट नगरिदिनुहोला । साथि हौं त्यो भन्दा माथि केही थिएन । म आफ्नो करियरमा फोकस छु । तपाईंहरुलाई हरेक पटक राम्रो चलचित्र दिने मेरो प्रयासमा हजुरहरुको यस्तो मायाको सधैं अपेक्षा गर्दछु । आँप जोडी थियौं छौं र रहनेछौ ।’ पलले आँचलको व्यक्तिगत जीवनको विषयमा आफूलाई नजोडिदिन शुभचिन्तकसँग आग्रह गरेका छन् ।

