Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(16 votes, avg 5.00/5.00)
Text size:-
+
-

शनिबार ‘मारुनी’ को आशातित व्यापार

फिल्मीखबर, काठमाण्डौ, 2019/08/31
अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह र अभिनेता पुष्प खड्का अभिनीत फिल्म ‘मारुनी’ ले शुक्रबारको तुलानामा शनिबार केही आशातित व्यापार गर्न सफल भएको छ । मल्टीप्लेक्समा साउथ सुपरस्टार प्रभास अभिनीत फिल्म ‘साहो’ को चेपुवामा परेको यो फिल्मले सिंगल स्क्रिनमा भने दर्शकको उल्लेख्य साथ पाएको वितरकको दाबी छ । शनिबार फिल्मले देशैभर हाउसफुल दर्शक पाएको जानकारी प्राप्त छ । फिल्मको व्यापार सिंगल स्क्रिनमा राम्रो छ । 
 
 
निर्मात्री पुनम गौतका अनुसार, शनिबार काठमाडौंका मल्टिप्लेक्सका केही शोजमा फिल्मको अकुपेन्सी ९० प्रतिशतसम्म देखिएको छ । शनिबार बिहानैदेखि मध्यम वर्गीय दर्शकको सर्वाधिक चाप रहने राजधानीका गोपीकृष्ण, अष्टनारायण, गुण, गंगालगायतका हलमा फिल्मले हाउसफुल व्यापार गरिरहेको वितरकले बताएका छन् । ‘वर्ड अफ माउथ’ बलियो भएका कारण फिल्म लामो रेसको घोडा बन्नेमा निर्माण टिम पूर्ण विश्वस्त छ । 
 
शनिबार दिउँसो दर्शकसँग साक्षात्कार गर्न अभिनेत्री साम्राज्ञी, अभिनेता पुष्प, नव-अभिनेत्री रेविका गुरुङ, निर्मात्री पुनम गौतम, निर्देशक नवल नेपाललगायत राजधानीका विभिन्न हल पुगेका थिए । पुष्प, साम्राज्ञी र रेविकालाई निर्माण टिमले सुरक्षाका लागि दुई महिला र दुई पुरुष बडिगार्ड उपलब्ध गराएको थियो । उनीहरु गोपीकृष्ण हल पुग्दा दर्शकले न्यानो स्वागत गरे । उनीहरुसँग सेल्फी खिच्न दर्शकको ठूलो भीड लागेको थियो । 
 
अभिनेत्री साम्राज्ञीले फिल्म हेर्ने दर्शकले सकारात्मक प्रतिक्रिया दिएको भन्दै आफूलाई आफूले गरेको मिहिनेत सार्थक लागेको बताइन् । फिल्ममा उनले ‘ट्रान्सजेन्डर’ युवतीको भूमिका निभाएकी छन् । दर्शकले उनलाई फरक भूमिकामा रुचाएका छन् । अभिनेता पुष्पले पनि दर्शकको माया पाएको भन्दै खुशी व्यक्त गरे । फिल्मबाट नव-अभिनेत्री रेविकाले निकै तारिफ बटुलिरहेकी छन् । दर्शकले उनको अभिनयको मुक्तकण्ठले प्रशंसा गरेका छन् । 
 
 
फिल्मको कथावस्तु, प्रस्तुति, क्लाइमेक्सको दृश्य र सस्पेन्स पाटोलाई दर्शकले मन पराएका छन् । धेरैपछि फरक कथामा फिल्म बनेको दर्शक प्रतिक्रिया छ । निर्देशक नेपालले फिल्म हेरेपछि दर्शकले गर्ने प्रचार नै सबैभन्दा ठूलो हुने बताउँदै फिल्मलाई प्राप्त सकारात्मक प्रतिक्रियाले हौसला मिलेको बताए । निर्मात्री पुनमले शनिबारको व्यापारले आफू उत्साहित भएको र आइतबारबाट दर्शक बढ्नेमा विश्वस्त रहेको बताइन् ।
Most Visited News (monthly)