हास्यकलाकार दीपकराज गिरीलाई केही वर्षयता नेपाली फिल्म क्षेत्र हाँक्ने ड्राइभर भन्न थालिएको छ । उनको समुहले निर्माण गरेको फिल्म आएपछि सुस्ताएको फिल्म बजारमा आगो बाल्छ । टेलिभिजनको स्क्रिनमा आउने लोकप्रिय हास्यसिरियल ‘तितो सत्य’ सधैंका लागि बन्द गरेर दीपकराजले ‘तितो सत्य’, ‘जिरे खुर्सानी’ र ‘मेरी बाँस्सै’ मा अभिनय गर्ने सानो पर्दाका स्टारलाई लिएर पहिलो फिल्म ‘६ एकान ६’ निर्माण गरे । त्यसबेला नाम चलेका हाँस्य कलाकारलाई एउटै फिल्ममा लिनु चानचुने कुरा थिएन ।
‘६ एकान ६’ भन्दा अगाडि नेपालमा हाँस्य प्रधान फिल्म खासै बन्ने र चल्ने गरेका थिएनन् । फिल्ममा चट्नीको रुपमा मात्र कमेडी राखिन्थ्यो । तर, यो फिल्मले नेपाली फिल्ममा कथा भन्ने शैली नै उल्टायो । लभस्टोरी र एक्सन फिल्मको एकाधिकार रहेको समयमा यसले कमेडी फिल्म पनि दर्शकले रुचाउँछन् र राम्रो व्यापार गर्न सक्छ भन्ने प्रमाणित गरेको थियो । त्यसपछि दीपकराजले सोही टिमलाई लिएर कमेडी फिल्म बनाउने दोस्रो ‘रिक्स’ उठाए । र, जन्मियो ‘वडा नम्बर ६’ । यो फिल्मले पनि सानदार व्यापार गर्यो ।
दुई फिल्मको सफलतापछि दीपकराजको समुह फिल्म निर्माण गर्न रोकिएन । झन् सशक्त रुपमा अगाडि बढ्यो । तेस्रो फिल्म ‘छक्का पञ्जा’ लाई दीपाश्री निरौलाले निर्देशन गरिन् । यो फिल्मले दर्शकको मन मात्र जितेन नेपाली फिल्मको बजारलाई पनि फरोकिलो बनायो । यसको बक्सअफिस अंक नेपाली फिल्म इतिहासकै सर्वाधिक ठूलो मानिन्छ । यो फिल्मले घरेलु बजारबाट २० करोड कमाएर रेकर्ड राखेको थियो । त्यसपछि त नेपाली फिल्ममा कमेडी फिल्मको ट्रेन्ड नै सुरु भयो ।
नेपाली फिल्ममा रोनाधोना र एक्सनको दबदबा रहँदा हँसाउनेलाई ‘चङ्खे र जोकर’ को उपमा भिराइन्थ्यो । तर, अहिले त्यही ‘चङ्खे’ हरुको राज चल्दैछ नेपाली फिल्म क्षेत्रमा । एक्सन र रोनाधोना फिल्मबाट वाक्कदिक्क भएका दर्शकहरु अहिले हँसाउने फिल्ममा रम्न थालेपछि ‘जोकर’ भनिएका कलाकारहरुको दिन बलेको छ । उनीहरु अहिलेका चल्तीका अभिनेता द्वय अनमोल केसी र प्रदीप खड्काभन्दा ठूला स्टार भएका छन् । यो अवस्था निर्माण हुनुमा दीपक-दीपा समुहको ठूलो भूमिका छ ।
.jpg)
‘छक्का पञ्जा’ ले बक्सअफिसमा सर्वाधिक ठूलो अंक प्राप्त गरेपछि दीपकराज र दीपाश्रीको समुह नयाँ नाममा फिल्म बनाउने जोखिम उठाएन तयार भएन । यही फिल्मको लगातार दुई सिरिज निर्माण गरियो । र, दुबै श्रृंखलाले बक्सअफिसमा आगो बाले । यो टिमले निर्माण गरेको नयाँ फिल्म ‘छ माया छपक्कै’ आउँदो असोज २४ गतेबाट प्रदर्शनमा आउँदैछ । तर, दशैंको घटस्थापना वा फूलपातीमा आउने तयारी भएको यो फिल्म किन दशैंको टिकापछि आउँदैछ ? यो सवालले अहिले फिल्मवृत राम्रै तातेको छ ।
उक्त फिल्म दशैंको टिका अगाडि प्रदर्शनमा आउन नसक्नुको कारण ऋतिक रोशन र टाइगर श्राफ अभिनीत बलिउड फिल्म ‘वार’ हो । यो फिल्म असोज १५ गते अर्थात् फूलपातीको दुई दिन अगाडि प्रदर्शनमा आउँदैछ । ‘छ माया छपक्कै’ असोज १७ गते प्रदर्शनमा ल्याउने तयारीमा थिए, दीपकराज । तर, ‘वार’ ले बक्सअफिसमा मिच्ने देखेपछि उनी भिड्न तयार भएनन् । फिल्म नै एकहप्ता पछाडि सारे । फिल्म रिलिजका लागि घटस्थापना पनि ‘अप्सन’ मा थियो तर त्यो पनि हातबाट गुम्यो ।
निर्देशक अशोक शर्माले फिल्म ‘रातो टिका निधारमा’ घटस्थापनामा प्रदर्शन गर्ने घोषणा गरेपछि दीपकराजको समुहले दशैं विदा छाड्न बाध्य भएको हो । अब यो फिल्म बिना विदामा प्रदर्शन हुँदैछ । दशैं विदा छाड्नु ‘छ माया छपक्कै’ लाई कति घाटा/नाफा होला त्यसका लागि असोज २४ सम्म पर्खिनै पर्ने हुन्छ । तर, दर्शकको विश्वास जितेको टिमले निर्माण गरेका कारण यो फिल्मले निराशाजनक व्यापार भने नगर्ने कतिपयको विश्लेषण छ । फिल्मका निर्देशक दीपेन्द्र लामा हुन् ।
तर, यो फिल्म ‘वार’ को डरले भाग्दै गर्दा निर्माता तथा कलाकार दीपकराज गिरीमाथि अनेकन प्रश्न उठेका छन् । प्रायः पब्लिक फोरममा विदेशी फिल्मसँग नेपाली फिल्म प्रतिस्पर्धा गर्न योग्य भएको भन्दै भाषण ठोक्ने वत्ता हुन्, उनी । तर, उनी आफैं बलिउड फिल्मसँग भिड्न डराएर कुलेलाम ठोकेका छन् । के उनको भाषण अरु मेकरलाई उकास्न मात्र थियो ? आफ्नो बोली व्यबहारमा लागू गर्न किन उनले खुट्टा कमाए ? फिल्ममाथि पूर्ण भरोसा नहुनुले यो अवस्था आएको त होइन ? उनीबाट यसको जवाफको पर्खाइ रहनेछ।
विदेशी फिल्मसँग भिड्ने आँट बोलीमा होइन व्यबहारमा देखाउन आवश्यक छ । यसपटक दीपकराजले आफ्नो बोली व्यबहारमा उतार्ने राम्रो अवसर पाएका थिए । तर, उनले खुट्टा कमाए ! विदेशी फिल्म आउँदा नेपाली फिल्मलाई हलवालाले शो नै नदिने भन्दै उनी तर्किने प्रयत्नमा छन् । तर, उनी कम शो पाउने पिरलोले भन्दा ‘वार’ ले निमोठ्ने डरले कुलेलाम ठोकेको कतिपयको टिप्पणी छ । उनी जस्ता जब्बर मेकर नै विदेशी फिल्मको डरले भाग्न नछाड्ने हो भने अरुमा कसरी हिम्मत पलाउँछ ?

