
अहिले निर्मातालाई हलको व्यापारमा मात्र भर पर्नु पर्ने अवस्था छैन । डिजिटल र ओभरसिज राइट्सबाट पनि नेपाली फिल्मले निकै राम्रो कमाई गर्ने गरेका छन् । प्रतिष्ठित ब्यानर र नाम चलेका कलाकारको फिल्म रिलिज अगावै मोटो रकममा विक्री हुने गरेका छन् । हलको व्यापारको भर नहुने हुँदा यसले निर्मातालाई बचाउन निकै ठूलो सघाउ पुर्याएको छ । फिल्मको आधाभन्दा बढी बढी लगानी अहिले ओभरसिज राइट्सबाटै उठ्ने गर्दछ ।
केही महिना अगाडि दीपकराज गिरी समुहको फिल्म ‘छ माया छपक्कै’ को ओभरसिज राइट्स १ करोड १६ लाखमा विक्री भएको थियो । यसबीच, आउँदो चैत २८ गतेबाट प्रदर्शनमा आउन लागेको अभिनेता प्रदीप खड्काको प्रमुख भूमिका रहने फिल्म ‘प्रेमगीत ३’ को पनि महँगो मुल्यमा ओभरसिज राइट्स विक्री भएको छ । शुक्रबार निर्माता सन्तोष सेनको जन्मदिनमा दाताज् इभेन्ट्सले फिल्मको विदेश राइट्स ९५ लाखमा खरिद गरेको हो ।
शुक्रबार फिल्म निर्माण कम्पनी आसुसेन फिल्मस्का कार्यकारी प्रमुख सन्तोष सेनसँग लिखित सम्झौता गर्दै दाताज् इभेन्ट्सका प्रमुख दाताराम घिमिरेले फिल्मको ओभरसिज राइट्स खरिद गरेका हुन् । ‘प्रेमगीत’ सिरिजप्रति दर्शकको विश्वास भएका कारण निर्माण टिमलाई हौसला प्रदान गर्दै फिल्मको विदेश राइट्स निर्माण अगावै खरिद गरेको घिमिरेले बताए । यो कम्पनीले पहिलो पटक नेपाली फिल्मको विदेश प्रदर्शन अधिकार लिएको हो ।
‘यति ठूलो ब्यानरमा बन्न लागेको फिल्मसँग सहकार्य गर्न पाउँदा हामी निकै खुसी छौं । यसबाट नेपाली फिल्म क्षेत्रलाई एउटा इट्टा थप्ने काम हुनेछ भन्नेमा पूर्ण विश्वास छ’, घिमिरेले भने, ‘प्रेमगीत ३’ को ब्रान्डिङ र अभिनेता प्रदीप खड्काको विदेशी भूमीमा निकै राम्रो क्रेज भएका कारण फिल्मलाई महँगो मुल्य तिर्न तयार भएका हौं । हाम्रो लगानी फिल्मले उठाउनेमा ढुक्क छौं ।’ अब यो फिल्म विदेशमा प्रदर्शन गर्न इच्छुकले उनीसँग सम्पर्क गर्नुपर्ने छ ।
निर्माता सेनले आफ्नो जन्मदिन सेलिब्रेट गर्दै निर्माण अगावै ठूलो रकममा फिल्मको विदेश राइट्स विक्री हुनुले आफूहरुमा थप जिम्मेवारी थपिएको बताए । फिल्मलाई उत्कृष्ट बनाउन कुनै कसुर नछाड्ने उनको दाबी छ । दशैंपछि फिल्मको छायांकन सुरु हुँदैछ । छेतेन गुरुङ र निर्माता सेनले मिलेर निर्देशन गर्ने पिरियड ड्रामामा प्रदीपसँगै क्रिस्टिना गुरुङ, अनुभव रेग्मी, मनिष राउत, शिव श्रेष्ठ, सुनिल थापा, प्रेम पुरी, सन्तोष सेनलगायतको अभिनय रहनेछ ।

