साउथ सुपरस्टार प्रभास स्टारर फिल्म ‘साहो’ को डरले भाद्र १३ गतेबाट पोस्टपोन्ड भएर दशैंको विदा ताक्दै असोज ३ गतेबाट प्रदर्शन हुन लागेको यस वर्षको बहुप्रतिक्षीत फिल्ममध्ये एक ‘कबड्डी कबड्डी कबड्डी’ को कमेडीले भरिएको ट्रेलर सार्वजनिक भएको छ । मौलिक विषयवस्तुलाई सशक्त ढंगले दृश्यभाषामार्फत् व्यक्त गर्न सक्ने रामबाबु गुरुङ निर्देशित यो फिल्मको ट्रेलर इन्गेजिङ र इन्टरटेनिङ छ ।

ट्रेलरमार्फत् फिल्मको मुल द्वन्द्व प्रस्ट्याउन खोजिएको छ । फिल्मको ट्रेलर मेकिङ कमर्शियल शैलीको छ । कलाकारको प्रस्तुती हेर्दा ट्रेलरले दर्शकमा फिल्मप्रति कौतुहलता र उत्सुकता जागृत गर्न सफल हुने देखिन्छ । ब्रान्ड नाम, प्रतिष्ठित ब्यानर, नाम चलेका कलाकारहरु र एकपछि अर्को फिल्मबाट दर्शकको विश्वास जित्न सफल निर्देशक जोडिएका कारण यो फिल्मको ट्रेलरको लामो समयदेखि प्रतिक्षा भइरहेको थियो ।
पछिल्लो समय दर्शकलाई हलसम्म आकर्षित गर्ने बलियो हतियार ट्रेलरसँगै गीतसंगीत पनि बन्ने गरेको छ । ‘कबड्डी कबड्डी कबड्डी’ को अहिले ‘दुबो फूल्यो’ गीतले राम्रै चर्चा बटुलिरहेको छ । यूट्युबमा ४० लाख बढी भ्यूअर्स बटुलिसकेको यो गीतका कारण फिल्मको इनिसियल व्यापारमा ठूलो फाइदा पुग्ने विश्वास निर्माण टिमको छ । उक्त फिल्मको अघिल्ला दुई सिरिजले बक्सअफिसमा जबरजस्त व्यापार गरेका थिए ।
यो फिल्मले स्वजातिय विवाह र अन्तर्जातिय प्रेम सम्बन्धको अन्तरद्वन्द्वको कथामा वाचन गरेको छ । यसको कथा निर्देशक निर्देशक गुरुङ र उपेन्द्र सुब्बाले तयार पारेका हुन् । शैलेन्द्र डि. कार्कीले खिचेको यो फिल्म बासुरी फिल्मस्को निर्माण, सिनेमा आर्टको प्रस्तुति, माउण्टेन स्टोरिज र नौमती इन्टरटेन्मेन्टको सहकार्यमा निर्माण भएको हो । यसले बक्सअफिसमा राम्रो व्यापार गर्ने पूर्वअनुमान गरिएको छ ।
दयाहाङ राई, कर्मा शाक्य, उपासना सिंह ठकुरी र विल्सन विक्रम राई, बुद्धि तामाङ, माओत्से गुरुङ, विजय बराल, रिश्मा गुरुङ, पुस्कर गुरुङ, कमलमणी नेपाल, अरुणा कार्कीलगायतका कलाकारहरुको यसमा अभिनय छ । रेनशा वान्तवा राईको कोरियोग्राफी रहेको फिल्मको सम्पादन निमेश श्रेष्ठले गरिरहेका छन् । मणीराम पोखरेल, अर्जुन कार्की र ओम चन्द्र रौनियार फिल्मका निर्माता हुन् ।
ट्रेलर हेर्नहोस् :-

