
बलिउडका 'सिंघम' अजय देवगन गाडीका सौखिन मानिन्छन् । उनीसँग कयौं महँगो र लग्जरी गाडी छ । तर, यसपटक उनले त्यो एसयूभी कार किनेका छन्, जुन भारतमा उनीभन्दा अगाडि मात्र अर्बपति मुकेश अम्बानी र टी-सीरीजका मालिक भूषण कुमारसँग छ । अजयले ६ करोड ९५ लाख भारुमा रोल्स रोयस कलिनन कार किनेका छन् ।
रोयल्स रोयसबाहेक अजयसँग एउटा ल्यान्ड रोभर रेन्ज रोभर, एउटा बीएमडब्लु फाइभ सेरिज, मर्सिडिज बेन्ज एस क्लास, औडी क्यु सेभेन, मर्सिडिज बेन्ज जीएल क्लास, भोल्भो एक्ससी ९० र एउटा मोडिफाइड टोयटा सेलिका कार पनि छ । उनी मसेराटी क्वाट्रिपोर्ट कार किन्ने पहिलो भारतीय समेत हुन् । उनी प्रायः गाडी फेरिरहन्छन् ।
नेपाली सडकमा कल्पना गर्न मात्र सकिने रोल्स रोयस कलिनन कारमा १२ लिटरको पेट्रोल इन्जिन हुन्छ । यसले ५६० बीएचपीको पावर र ८५० एनएमको टोर्क दिन्छ । यो कारको खास विशेषता भनेको शून्यदेखि सय किलोमिटरको रफ्तार यसले पाँच सेकेण्डभन्दा कम समयमा पकड्छ । यसको टप स्पीड २४९ किलोमिटर छ । अजयको कारको रंग निलो छ ।
अजय देवगनको पछिल्लो रिलिज फिल्म 'टोटल धमाल' र 'दे दे प्यार दे' हो । यी दुबै फिल्मले बक्सअफिसमा राम्रो व्यापार गरेका थिए । अब उनी 'तुर्रम खान', 'तानाजी : द अनसंग वारियर', 'मैदान', 'भुज : द प्राइड अफ इन्डिया' र 'आरआरआर' जस्ता फिल्मको तयारीमा छन् । लभस्टोरी, कमेडी र एक्सन सबै प्रकारका फिल्ममा फिट हुने उनी निर्देशक समेत हुन् ।

