अहिलेकी चल्तीकी अभिनेत्री हुन्, साम्राज्ञी राज्यलक्ष्मी शाह । फिल्ममा उनको उपस्थिति मात्र पनि हलसम्म दर्शक तान्न काफी हुने सोचाइ मेकरमा व्याप्त छ । त्यसैले त उनलाई फिल्ममा खेलाउन निर्माताबीच तानातान हुने गरेको छ । नेपाली फिल्मकी महँगी अभिनेत्रीको सूचीमा अग्रणी स्थानमा आउने उनको भाद्र १३ गते ‘मारुनी’ र असोज १० गते ‘रातो टिका निधारमा’ प्रदर्शनमा आउँदैछ ।
 (1)(1).jpg)
यस वर्ष निकै राम्रो स्क्रिप्टबाट अफर आइरहेको बताउने उनलाई निर्माता अर्जुन कुमारले पनि हिट फिल्म ‘चपली हाइट’ को तेस्रो सिरिज अफर गरेका थिए । साम्राज्ञीले फिल्मको स्क्रिप्ट पनि सुनिन् । उनलाई आफ्नो भूमिका निकै मनपर्यो । उनी फिल्म गर्न राजी भइन् तर निर्माण टिमसमक्ष एउटा अनौठो सर्त राखिन् । उनले फिल्मको नाम परिवर्तन गरेको खण्डमा काम गर्ने निर्णय सुनाइन् ।
‘चपली हाइट’ सिरिजलाई एडल्ट फिल्म भन्ने गरिन्छ । यो फिल्मको पहिलो पार्टमा अभिनेत्री विनिता बरालले दिएको इन्टिमेट सिनको अझै पनि चर्चा हुने गर्दछ । दोस्रो पार्टमा पनि अभिनेत्री परमिता आरएल राणाले बोल्ड सिन दिएकी थिइन् । अभिनेत्री साम्राज्ञीको भूमिका त्यस्तो नभए पनि उनले फिल्मको नामले आफ्नो छविमा असर पुग्ने ठानेर निर्मातालाई नाम परिवर्तन गर्न आग्रह गरेकी थिइन् ।
तर, निर्माता अर्जुन कुमार फिल्मको काम परिवर्तन गर्न तयार भएनन् । उनले फिल्मको नाम नै ब्रान्ड भइसकेको भन्दै साम्राज्ञीको प्रस्ताव अस्वीकार गरेको स्रोत बताउँछ । साम्राज्ञीले पनि नाम परिवर्तन भए मात्र फिल्म गर्ने अडान लिएपछि ‘चपली हाइट ३’ अभिनेत्री स्वस्तिमा खड्काको हातमा परेको छ । उनले भने भूमिका राम्रो लागेपछि फिल्म गर्न तयार भएको जानकारी प्राप्त छ ।
सौगात मल्लले किन छाडे ‘चपली हाइट ३’ ?
अभिनेता सौगात मल्ल अभिनेत्री श्रृष्टि श्रेष्ठको प्रेममा छन् । गएको तीन वर्षदेखि उनीहरु एकअर्काको प्रेममा रमाइरहेका छन् । तर, अरु सेलिब्रेटीझैँ दुईले प्रेम सम्बन्ध लुकाएका छैनन् । उनीहरुको प्रेम खुल्ला किताबझैँ छ । एकपछि अर्को फिल्म साथमा गरिरहेका दुईले फिल्म ‘चपली हाइट ३’ पनि गर्ने चर्चा थियो । निर्माता अर्जुन कुमारले फिल्ममा सौगात भित्रिएको पुष्टि समेत गरेका थिए ।
(1)(1).jpg)
अहिले सौगातले आफूले गर्ने फिल्ममा अभिनेत्रीमा श्रृष्टि हुनुपर्ने दबाब निर्माता/निर्देशकलाई दिने गरेको चर्चा फिल्मवृतमा सुनिन्छ । श्रृष्टि नभए उनले अनुबन्ध भएको फिल्म समेत छाड्ने गरेका छन् रे ! ‘चपली हाइट ३’ मा पनि सौगातले अभिनेत्रीमा श्रृष्टिको नाम सिफारिस गरेका थिए । फिल्ममा श्रृष्टि भित्राउन निर्माता अर्जुन पनि तयार भए तर उनको भूमिका सुनेपछि सौगात मानेनन् ।
स्रोतका अनुसार, फिल्ममा श्रृष्टिले बोल्ड सिन दिनुपर्ने थियो तर त्यसका लागि सौगात तयार भएनन् । उनले स्वस्तिमाले गर्न लागेको भूमिका श्रृष्टिलाई दिन आग्रह गरे तर निर्माता अर्जुन मानेनन् । फिल्ममा श्रृष्टि नहुने भएपछि सौगातले समेत हात झिकेको जानकारी प्राप्त छ । यद्यपि, यस विषयमा निर्माण टिमले मुख खोलेको छैन । यसअघि निर्माता अर्जुनको ‘फाटेको जुत्ता’ मा सौगातले काम गरेका थिए ।

