अभिनेत्री रेखा थापा प्रत्येक वर्ष एउटा फिल्म निर्माण गर्ने गर्दछिन् । गत वर्ष उनले आफ्नै निर्माण र निर्देशनमा फिल्म ‘मालिका’ बनाएकी थिइन् । तर, फिल्म बक्सअफिसमा असफल ठहरियो । यो फिल्मको असफलतापछि केही हच्किएकी उनले यस वर्ष नयाँ फिल्म बनाउँदैछिन् । अहिले फिल्मको स्क्रिप्टमा काम भइरहेको छ । फिल्मको निर्माण रेखाले गर्ने भए पनि निर्देशन उनको रहने छैन ।
आफू निर्देशित पछिल्ला दुई फिल्म ‘रुद्रप्रिया’ र ‘मालिका’ ले हलमा पानी भन्न नपाएपछि उनले फेरि निर्देशन गर्ने हिम्मत जुटाउन सकेकी छैनन् । यसैकारण उनले यसपटक फिल्मको क्याप्टेनसिपकोे जिम्मेवारी कोरियोग्राफर तथा निर्देशक रेनशा वान्तवा राईलाई सुम्पिएकी छन् । यसअघि उनले फिल्म ‘इन्टु मिन्टु लण्डनमा’ निर्देशन गरेकी थिइन् । यो उनको डेब्यू निर्देशित फिल्म थियो ।
(1).jpg)
बेनामे फिल्मको दशैंपछि छायांंकन सुरु हुने बताइएको छ । अहिले निर्माण टिम ‘कास्ट एण्ड क्रियू’ फाइनल गर्ने तयारीमा छ । फिल्ममा रेखा स्वयंको प्रमुख भूमिका रहने बताइएको छ । तर, यस विषयमा निर्माण पक्षबाट कुनै जानकारी प्राप्त भएको छैन । अभिमन्यू निरवीले तयार पारेको कथामा बन्ने फिल्म मल्टीस्टारर हुनेछ । फिल्ममा नयाँदेखि पुरानासम्म चलेका कलाकारहरुको अभिनय रहनेछ ।
फिल्मीखबरलाई गोप्य स्रोतले दिएको जानकारी अनुसार, यो फिल्मको प्रमुख भूमिकामा अहिलेका चल्तीका अभिनेता प्रदीप खड्कालाई अफर गरिएको छ । हाल ‘प्रेमगीत ३’ को तयारीमा रहेका उनीसँग निर्देशक रेनशाले केही दिन अगाडि फिल्मको विषयमा कुराकानी गर्न भेट गरेकी थिइन् । भेटमा रेखा भने थिइनन् । रेनशाले प्रदीपलाई फिल्म गर्न आग्रह गरेको जानकारी प्राप्त छ ।
यसअघि फिल्म ‘इन्टु मिन्टु लण्डनमा’ पनि निर्देशक रेनशाले प्रदीपलाई अप्रोच गरेकी थिइन् । तर, विविध कारणले दुईबीच टिमअप हुन सकेको थिएन । यसपटक पनि यो सम्भावना न्यून देखिएको छ । दशैं लगत्तै ‘प्रेमगीत ३’ को छायांकनमा व्यस्त हुनु पर्ने भएकाले प्रदीपले रेखाको फिल्म गर्ने सम्भावना न्यून रहेको स्रोत बताउँछ । चाँडै रेखा पनि फिल्मको विषयमा कुरा गर्न उनीसँग भेट गर्दैछिन् ।

