Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(53 votes, avg 4.91/5.00)
Text size:-
+
-

वितरक मानन्धर भन्छन्, ‘नेपाली फिल्मको व्यापार हेर्दा रुन मन लाग्छ’

फिल्मीखबर, काठमाण्डौ, 2019/08/25
गत वर्षको दशैंमा प्रदर्शनमा आएको फिल्म ‘छक्का पञ्जा ३’ पछि करीब ६ महिना कुनै फिल्म चलेनन् । हरेक हप्ताको शुक्रबार प्रदर्शनमा आएका फिल्मले पोस्टरको समेत पैसा उठाउन नसक्दा फिल्म क्षेत्रै धरासायी हुने अवस्थामा पुगेको थियो । फिल्म निर्माण र प्रदर्शन गर्नै मेकर तर्सिन थालेका थिए । तर, नयाँ वर्षमा प्रदर्शनमा आएको अभिनेता अनमोल केसी स्टारर फिल्म ‘ए मेरो हजुर ३’ ले सुस्ताएको फिल्मको बजार धेरै हदसम्म उठायो । 
 
यो फिल्मले बक्सअफिसमा बोरामा पैसा बटुलेपछि फेरि फिल्म क्षेत्रमा चहलपहल सुरु भयो । एकपछि अर्को फिल्म हलमा पत्तासाफ भएको देखेर डराएका फिल्मकर्मी पुनः फिल्म बनाउन तम्सिए । निर्माण भइसकेका फिल्म भकाभक प्रदर्शनमा आए । तर, यस वर्षको जेठपछि नेपाली फिल्मको बजार फेरि सुस्ताएको छ । बैशाख अन्तिममा आएको मल्टीस्टारर फिल्म ‘दाल भात तरकारी’ ले कमजोर प्रतिक्रियाको बाबजुद पनि राम्रो व्यापार गर्‍यो ।
 
जेठ पहिलो साता प्रदर्शनमा आएको सुपरहिट फिल्म ‘जात्रा’ को सिक्वेल ‘जात्रै जात्रा’ ले व्यापारिक र समीक्षात्मक दुबै सफलता हासिल गर्‍यो । यसपछि हरेक हप्ताको शुक्रबार हलमा नयाँ फिल्म टुटेका छैनन् । तर, कुनैले न गतिलो व्यापार गर्न सकेका छन् न त दर्शकलाई सन्तुष्ट बनाउन नै । प्रायः फिल्मले भित्तामा पोस्टर टाँस्नका लागि बनाएको माडको पैसा समेत उठाउन सकेका छैनन् । आश गरिएका फिल्म समेत बक्सअफिसमा डुबेको डुब्यै छन् । 
 
 
गएको शुक्रबार मल्टीस्टारर फिल्म ‘हजार जुनीसम्म’ प्रदर्शनमा आएको थियो । यो फिल्मले खडेरी लागेको नेपाली फिल्मको व्यापार चलायमान बनाउने ठूलो अपेक्षा गरिएको थियो । तर, कमजोर ‘वर्ड अफ माउथ’ का कारण फिल्मले हलमा टिठलाग्दो व्यापार गर्‍यो । यसपछि सबैको आशा र अपेक्षा फिल्म ‘जाइरा’ माथि थियो । तर, यो फिल्म पनि यस वर्षको सबैभन्दा ठूलो डिजास्टर सावित हुने देखिएको छ । फिल्मले हलमा दर्शक आकर्षित गर्न सकेको छैन । 
 
यस फिल्मको देशभर वितरणको जिम्मा लिएका सुनिल मानन्धरले ‘जाइरा’ को व्यापार अपेक्षाकृत नभएको बताए । वितरकले कुनै फिल्मको वितरण अधिकार लिँदै गर्दा निर्मातालाई केही रकम बुझाउनु पर्ने हुन्छ । निर्मातालाई बुझाएको पैसा पनि ‘जाइरा’ ले उठाउन नसक्ने वितरक मानन्धर बताउँछिन् । स्पष्ट वक्ताको रुपमा चिनिने उनी भन्छन्, ‘शुक्रबार फिल्म हेर्ने दर्शक औसतभन्दा कम थिए । शनिबार पनि फिल्मको व्यापार राम्रो भएन ।’
 
उनी अहिले कुनै फिल्मले वितरकको पैसा उठाउनु पनि ठूलो कुरा हुने बताउँछन् । ‘अहिले कुनै फिल्मले वितरकको पैसा मात्र उठायो भने पनि त्यसलाई हिट मान्नु पर्ने अवस्था आएको छ । नेपाली फिल्म हलमा चल्नै छाडेका छन् । अहिले फिल्मको व्यापार हेर्‍यो कि रुन मन लाग्छ । नेपाली फिल्मले औसत व्यापार गर्न पनि छाडेको छ’, उनले भने । उनले यसअघि फिल्म ‘वीर विक्रम २’ ले पनि आफूले निर्मातालाई तिरेको पैसा नउठाएको बताए । 
 
आश गरिएका फिल्मले समेत टिठलाग्दो व्यापार गरिरहँदा फिल्मकर्मी, वितरक, हल सञ्चालक सबै निराश छन् । ‘जाइरा’ प्रतिको विश्वास र भरोसा पनि चकनाचुर भएपछि अब सबैको नजर भदौ १३ मा प्रदर्शन हुन लागेको नेपाली फिल्म ‘मारुनी’ माथि छ । यो फिल्मले सुस्ताएको फिल्मको व्यापार चलायमान बनाउने अपेक्षा गरिएको छ । दशैं केन्द्रित फिल्म ‘कबड्डी कबड्डी कबड्डी’, ‘छ माया छपक्कै’ र ‘रातो टिका निधारमा’ प्रति पनि ठूलो अपेक्षा छ । 
Most Visited News (monthly)