लभर गर्लको भूमिकामा निकै रुचाइएकी अभिनेत्री नम्रता श्रेष्ठका प्रायः फिल्म व्यापारिक र समीक्षात्मक रुपमा सफल छन् । उनको जीवन्त अभिनयको सधैं चर्चा हुने गर्दछ । बौद्धिक तथा शारीरिक सुन्दरताका हिसाबले पनि अब्बल उनी हुलिया, बोल्ने शैली र हाउभाउबाट जुनसुकै भूमिकालाई जीवन्त बनाइदिन्छिन् । अभिनयमा विविधता पस्कन सिपालु उनी उस्तै भूमिकामा पनि फरकपन आभास गराउन सफल छिन् ।
सन् २००८ मा फिल्म 'सानो संसार' बाट फिल्मी अभिनयमा होमिएकी नम्रताले 'मेरो एउटा साथी छ', 'नोभेम्बर रेन', 'क्लासिक', 'छड्के' जस्ता फिल्ममा निर्वाहा गरेको भूमिका र अभिनयको निकै चर्चा भएको थियो । अझै पनि हुने गर्दछ । गत वर्ष प्रदर्शनमा आएको फिल्म 'प्रसाद' मा विवाहित महिलाको भूमिकामा पनि उनलाई निकै रुचाइयो । अभिनयको पनि गजबकै प्रशंसा भयो । विस्तारै उनमा फरक भूमिका गर्ने हुटहुटी पैदा भएको देखिन्छ ।
 (2)(1)(1).jpg)
वर्षमा एकभन्दा बढी फिल्म नगर्ने निर्णयमा अडिक उनले यस वर्षका लागि फिल्म ‘जाइरा’ लिएर आएकी छन् । यसमा उनले करिअरकै सबैभन्दा महत्त्वपूर्ण भूमिका निर्वाहा गरेकी छन् । आफ्नै काँधमा फिल्म बोकेर हिँड्ने सामथ्र्य भएकी नम्रता यो फिल्ममा मिक्स मार्शल आर्ट खेलाडीको भूमिकामा छिन् । शुक्रबारबाट प्रदर्शनमा आएको फिल्ममा उनलाई एक्सन अवतारमा देख्न सकिन्छ । यसअघि उनले यसखालको भूमिका गरेकी थिइनन् ।
निर्देशक आशुतोष राज श्रेष्ठले फिल्म अफर गर्दा उनलाई आफूले एक्सन गर्न सक्नेमा विश्वास नै थिएन । न त कहिले एक्सन फिल्म गर्नेबारे नै सोचेकी थिइन् । तर, निर्देशकको कन्फिडेन्टले उनको डर हरायो । उनी भन्छिन्, ‘निर्देशकको कन्फिडेन्ट र मेहनत देखेपछि मलाई हौसला मिल्यो । र, मैले एक्सन भूमिका गर्न सक्दिनँ भन्ने भ्रम चिर्दै काम गरेँ ।’ उनी दर्शकलाई फिल्म मनपर्नेमा विश्वस्त छिन् । फिल्मको टाइटल क्यारेक्टरमा उनी नै छिन् ।
मिक्स मार्शल आर्ट सिक्न ८ महिना तालिम लिएकी उनले चरित्रलाई न्याय गर्न कपाल समेत मुण्डन गरिन् । जसले गर्दा उनले फिल्म 'प्रसाद' मा विग (नक्कली कपाल) लगाउनु पर्यो, जुन आँखा विझाउने थियो । अभिनेत्रीको रुपमा ‘जाइरा’ मा अनुबन्ध भएकी उनी अहिले यस फिल्मकी निर्मातामध्ये एक हुन् । फिल्म र आफ्नो भूमिकाबारे ज्ञानेश्वरमा रहेको आफ्नै रेस्टुराँ एटिकमा नम्रताले सञ्चारकर्मीको प्रश्नको यसरी सामना गरिन् :
१. तपाईं लभस्टोरी फिल्ममा रुचाइएको अभिनेत्री । लभर गर्लकै भूमिकामा तपाईंलाई दर्शकले हेर्न चाहेका छन् । एक्सन फिल्म गरेर गल्ती गरेँ भन्ने लागेको छ ?
गल्ती गरेँ जस्तो लागेको छैन । सुरुमा चाहिँ मलाई आफैंमा कन्फिडेन्ट थिएन । निर्देशक (आशुतोष राज श्रेष्ठ) को कन्फिडेन्ट र मेहनत देखेपछि म कन्फिडेन्ट भएकी हुँ । दर्शकले फिल्म हेरेपछि यत्तिको फिल्म नेपालमा बन्यो है भनेर गर्व गर्नुहुन्छ जस्तो लाग्छ ।
२. अब चाहिँ भूमिकामा पनि आफूलाई परिवर्तन गर्नुपर्छ भन्ने लागेको हो ?
'सानो संसार' फिल्म गरिसकेपछि नै मैले अब एउटै खालको फिल्म खेल्नुहुन्न भन्ने लागेको थियो । किनकि, यो फिल्म गर्दा धेरैले मलाई 'सिच्वेसनल फेस' भन्नुभएको थियो । त्यसले मलाई निकै चित्त दुखेको थियो । मैले फिल्मका लागि निकै मेहनत गरेको थिएँ तर अरुले मेरो मुख मात्र देख्नुभएछ ।
गुरुकुलमा सौगात (मल्ल) दाईको नाटकहरु हेर्न जान्थेँ र उहाँबाट म प्रभावित भएको थिएँ । उहाँले सधैं फरक-फरक भूमिका निर्वाहा गर्नुहुन्थ्यो । अब म पनि त्यसरी नै काम गर्छु भनेर आफैंसँग प्रतिबद्धता गरेँ । ‘जाइरा’ चाहिँ मेरो लागि एउटा राम्रो सम्भावना हो । मैले यसअघि सोचेको थिइनँ एक्सन फिल्म पनि गर्छु भनेर । अरुले पनि सोच्नु भएको थिएन होला ! आशुतोष (निर्देशक) कन्फिडेन्ट भएपछि मलाई पनि कन्फिडेन्ट आएको हो ।
३. क्यारेक्टरलाई जस्टिफाइ गर्न तपाईंले कपाल पनि त्याग गर्नुभयो । एउटा महिलाका लागि कपाल कति प्रिय हुँदो रहेछ ?
प्रिय त हुन्छ । तर, क्यारेक्टर भएर सोच्दा चाहिँ ठिकै छ भन्ने हुँदो रैछ । छायांकन सकेपछि नम्रता भएर सोच्दा चाहिँ ‘ला मेरो कपाल छैन’ भनेर नराम्रो लागेको थियो । तर, एक महिनापछि छोटो कपालमा आफूलाई राम्रो लागेको थियो ।
४. तपाईंले लभस्टोरी फिल्म धेरै गर्नुभयो । अब एक्सन फिल्मलाई पनि निरन्तरता दिनुहुन्छ ?
‘जाइरा’ पछि म एक्सन फिल्म गर्न इच्छुक छु । पहिला चाहिँ मलाई डर लाग्थ्यो । यो फिल्मपछि त्यो डर हराएको छ । त्यसका लागि निर्देशकलाई धन्यवाद दिन चाहन्छु । राम्रो स्क्रिप्ट आयो भने भविष्यमा एक्सन फिल्म पनि गर्नेछु ।
५. पर्दामा तपाईंले एक्सन गर्दा दर्शकले सिट्ठी बजाउलान् ?
(हाँस्दै) बजाउनुहुन्छ होला जस्तो लाग्छ । मेरो मात्र नभएर अरुको एक्सन सिनमा पनि सिट्ठी बज्छ । किनकि, हामीले फाइट छायांकन अगावै कोरियोग्राफ गरेका थियौं । त्यसले गर्दा पनि हामीलाई काम गर्न सजिलो भएको थियो । म जस्तो मान्छेलाई फाइटर बनाउनका लागि फाइट ट्रेनरले निकै मेहनत गर्नुभएको छ ।
६. नेपालमा महिला प्रधान फिल्मले खासै व्यापारिक र समीक्षात्मक सफलता हात पार्न सकेका छैनन् । ‘जाइरा’ के होला ?
म चाहिँ महिला र पुरुष प्रधान फिल्म भनेर विश्वास गर्दिनँ । फिल्म राम्रो भयो र प्रचार राम्रो भयो भने चल्छ जस्तो लाग्छ । वर्तमान परिपेक्षमा फिल्म चल्नका लागि फिल्म राम्रो भएर मात्र पनि हुँदैन । त्यसका लागि धेरै कुरा मिल्नु पर्छ । ‘जाइरा’ ले व्यापारिक र समीक्षात्मक दुबै सफलता हात पार्छ भन्नेमा म आशावादी छु ।
 (3)(1).jpg)
७. तपाईंलाई नेपाली फिल्मप्रति समाजको दृष्टिकोण कस्तो छ जस्तो लाग्छ ?
अहिले दर्शक निकै स्मार्ट भइसक्नुभएको छ । किनभने, पहिला-पहिला फिल्म हेर्न एक्सेस धेरै थिएन । अहिले संसारको जुनसुकै कुनाबाट फिल्महरु हेर्न सकिन्छ । त्यो देखेपछि दर्शकहरुले पनि छुट्याउन सक्नुहुन्छ कि फिल्म भनेको यस्तो पो हुँदो रैछ, यस्तो पो बनाउनु पर्ने रैछ भनेर । त्यही भएर नै अहिले नेपाली फिल्मले बढी गाली खाइरहेको छ, जुन पहिला खाँदैन थियो ।
पहिला फिल्म यस्तो पनि बन्छ भन्नलाई अप्सन थिएन । अहिले अनलाइन प्ल्याटफर्मका कारण बाहिरको फिल्म हेर्नका लागि धेरै एक्सेस छ । त्यसकारण अडियन्स अहिले निकै स्मार्ट र एजुकेटेड हुनुहुन्छ । राम्रो फिल्मलाई चिन्न र सपोर्ट गर्नुहुन्छ जस्तो लाग्छ । हावाको फिल्मलाई सपोर्ट गर्नुहुन्न ।
८. निर्माता र कलाकार हुँदा के फरक हुँदो रहेछ ?
एकदमै धेरै फरक हुन्छ । तनाव र गाह्रो उस्तै । पहिला कलाकार मात्र हुँदा मैले अरु पनि पार्ट हेर्थेँ तर त्यतिबेला निर्माता/निर्देशकलाई सहयोग गर्ने मात्र हुन्थ्यो । तर, अहिले सहयोग भन्दा पनि यो आफ्नो काम हो । कसैले विगार्यो भने पनि आफैं पुग्नु पर्ने भन्ने हुँदो रैछ । किनकि, राम्रो वा नराम्रो जे भए पनि आफ्नो नाम आउँछ ।
दर्शकले मलाई यत्ति धेरै विश्वास गर्नुभएको छ कि त्यसको प्रेसर र डर एकदमै हुन्छ । तर, म खुसी छु किनकि आशुतोष (निर्देशक) ले मलाई धेरै टेन्सन नै दिएको छैन । उसले टेक्निकल पार्ट सबै हेरेको छ । मैले प्रमोसन र मार्केटिङ्ग हेरेँ । तर, निर्माता भएपछि सोच्दै नसोचेको समस्याहरु आउँदो रहेछ । फिल्म निर्माणमा यस्तो पनि समस्या हुँदो रहेछ भनेर धेरै बुझेँ ।
९. निर्माताको हिसाबले ‘जाइरा’ जस्तो फिल्म नेपालमा बनाउन कति गाह्रो छ ?
एकदमै गाह्रो छ । किनभने, लामो समय ट्रेनिङ्ग गर्नुपर्ने हुन्छ । त्यसपछि भिएफएक्समा निकै समय लाग्ने रहेछ । जति समय दिँदा पनि नपुग्ने रैछ । हामीलाई ‘जाइरा’ बनाउन २ वर्ष लागेको थियो, प्रि-प्रोडक्सनदेखि प्रदर्शनसम्म । त्यसकारण यस्तो फिल्म बनाउन नेपालमा निकै गाह्रो छ ।
१०. फिल्म बनाउन गाह्रो कि चलाउन ?
दुबै । बनाउन र चलाउन दुबै उत्तिकै गाह्रो हुन्छ । ५०/५५ जनाको टोलीलाई राखेर काम गराउनु एकदमै गाह्रो काम हो । अनि, फिल्म बनेर मात्र हुँदैन । प्रमोसनदेखि प्रदर्शनका लागि उपयुक्त मिति मिलाउनु पर्छ । अहिले हरेक चिजको भाऊ बढेको छ । जे गर्न पनि आर्थिक रुपमा बलियो हुनुपर्छ । प्रचार गतिलो भएन भने राम्रो फिल्म बनाएर मात्र पनि हुँदैन । दर्शकमाझ फिल्मबारे जानकारी पुर्याउन एकदमै ध्यान दिनुपर्ने हुन्छ ।

