Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

मलाई पनि हिरो बन्न मन छ तर अफरै आउँदैन : प्रमोद अग्रहरी

फिल्मीखबर, काठमाण्डौ, 2019/08/23
अभिनयको पारंगत मानिने अभिनेता प्रमोद अग्रहरी जुनसुकै भूमिकामा जीवन्त अभिनय पस्कन सिपालु छन् । फिल्म ‘उमा’ बाट अभिनयमा होमिएका उनले दुई दर्जन बढी फिल्ममा काम गरिसकेका छन् । पर्दामा प्रायः उनी नेगेटिभ रोल र मधेशी भूमिकामा देखिने गरेका छन् । गत वर्ष प्रदर्शनमा आएको फिल्म ‘कथा काठमाण्डू’ मा अभिनेत्री प्रियंका कार्कीसँग इन्टिमेट सिन दिएपछि उनी निकै चर्चामा आएका थिए । 
 
 
यो फिल्मभन्दा अगाडि उनको गुनासो थियो- ‘मलाई मधेशी चरित्र मात्र अफर नगर्नुस् । म अन्य भूमिका पनि गर्न चाहन्छु ।’ आफूलाई भर्सटायल कलाकार बनाउन भोकाएका उनलाई ‘कथा काठमाण्डू’ पछि मधेशी भूमिकाको अफर आउन कम भएको छ । उनी आफूलाई अहिले फरक भूमिकाबाट पनि अफर आउन थालेको बताउँछन् । तर, उनले ‘कथा काठमाण्डू’ पछि भकाभक इन्टिमेट सिन भएको फिल्म गरिरहेका छन् । 
 
उनको नयाँ फिल्म ‘जाइरा’ शुक्रबारबाट देशभर प्रदर्शनमा आएको छ । यसमा उनी नेगेटिभ रोलमा छन् । यो फिल्ममा पनि उनको किस सिन समावेश गरिएको छ । एकपछि अर्को फिल्ममा यस प्रकारको भूमिका गर्न थालेपछि अहिले उनलाई ‘नेपाली इमरान हास्मी’ भन्न थालिएको छ । तर, उनी इमरान हास्मी बन्न यस प्रकारको भूमिका नगरेको बताउँछन् । ‘म प्रमोद अग्रहरी नै ठिक छु । मलाई इमरान हास्मी बन्नु छैन’, उनले भने । 
 
उनी अगाडि भन्छन्, ‘इमरान हास्मी पहिलो व्यक्ति पनि होइनन्, जसले यस्तो सिन गरेका हुन् । हामी जन्मिनुभन्दा अगाडि नै बलिउडमा राज कपूरले यस्तो सिन गरिसक्नु भएको थियो ।’ ‘तपाईंलाई त्यस्तै क्यारेक्टर मात्र किन दिइन्छ ?’ ‘जाइरा’ रिलिजको पूर्व सन्ध्यामा राजधानीको एक रेस्टुराँमा भेटिएका उनीमाथि सञ्चारकर्मीको प्रश्न सोझियो । उनलाई उछिन्दै छेवैमा रहेकी अभिनेत्री नम्रता श्रेष्ठले मुख खोलिन्, ‘ऊ त्यस्तै देखिएर होला ।’
 
नम्रताको भनाईमा प्रमोदले हाँस्दै जवाफ दिए, ‘सायद । मलाई त्यस्तो क्यारेक्टर सुहाउने भएर पनि होला ।’ यस प्रकारको भूमिका गरेर आफूलाई रिग्रेट महशुस नभएको र नहुने उनको भनाई छ । ‘म आफ्नो कामबाट सन्तुष्ट छु । कलाकार भएपछि यो भूमिका गर्छु त्यो गर्दिनँ भन्न मिल्दैन । मलाई जस्तो भूमिका दिइन्छ त्यसलाई शतप्रतिशत न्याय गर्ने प्रयास गर्छु’, उनी सुनिए । नेगेटिभ रोलमा रमाइरहेका उनी आफूलाई पनि हिरो बन्ने चाह भएको बताउँछन् । 
 
 
उनले आफूलाई अहिलेसम्म हिरो बन्न अफर नआएको बताए । ‘हिरो बन्न त मन छ । तर, अहिलेसम्म अफर आएको छैन । आयो भने गर्छु’, उनले भने । ‘जाइरा’ को ट्रेलर सार्वजनिक भएपछि उनको लुक्सको निकै चर्चा भएको थियो । कुनै क्यारेक्टर जन्माउनु र बनाउनु निकै गाह्रो हुने उनको तर्क छ । ‘जाइरा’ मा आफूलाई फरक देखाउन निकै मेहनत गरेको उनले बताए । यसमा अघिल्ला फिल्ममा निभाएको भूमिकाको गन्ध पनि नआउने उनको दाबी छ । 
Most Visited News (monthly)