अभिनेता द्वय सौगात मल्ल र विपिन कार्की स्टारर फिल्म ‘लालपूर्जा’ बाट डेब्यू गरेकी अभिनेत्री मिरुना मगरको चौथो फिल्म ‘च च हुई’ आउँदो मंसिर ६ गतेबाट प्रदर्शनमा आउँदैछ । यसमा उनले अभिनेता आर्यन सिग्देलसँँग रोमान्स गरेकी छन् । बिहीबार यो फिल्मको ‘सिल्की सिल्की बाल’ गीत सार्वजनिक भएको छ । गीतमा आर्यनसँग उनको केमेस्ट्री गजबको देखिएको छ । फिल्मका निर्देशक साम्तेन भुटिया हुन् ।
मिरुनाले ‘लालपूर्जा’ पछि अहिलेका चल्तीका अभिनेता प्रदीप खड्कासँग ‘रोज’ मा काम गरेकी थिइन् । यसले उनलाई दर्शकको ठूलो वर्गमा चिनाउन ठूलो मद्दत गर्यो । गएको महिना उनको तेस्रो फिल्म ‘साइनो’ प्रदर्शनमा आएको थियो । तर, दुर्भाग्य ! उनले अभिनय गरेका तिनै फिल्म बक्सअफिसमा पत्तासाफ भए । अभिनय र सुन्दरताको तारिफ नटुटे पनि एकपछि अर्को फिल्मको असफलताले उनलाई नराम्रोसँग हच्काएको छ ।

फ्लप फिल्ममा ह्याट्रिक गरेकी उनी दर्शकको मायालाई आफ्नो सफलता मान्छिन् । ‘च च हुई’ ले फ्लप श्रृंखलामा पूर्णविराम लगाउनेमा कति विश्वस्त हुनुहुन्छ ? भन्ने सञ्चारकर्मीको प्रश्नमा उनी कड्किइन् । उनले उल्टै प्रश्न गरिन्- ‘हिट र फ्लप केलाई मान्ने ?’ कलाकारलाई फ्लपको ट्याग लगाउने र हटाउने काम मिडियाको रहेको उनको भनाई छ । उनी आफूलाई जुन ट्याग दिए पनि दुःखी नहुने बताउँछिन् ।
‘दर्शकको माया पाइरहेको छु । एकपछि अर्को फिल्ममा काम गर्ने अवसर पाएको छु । यसलाई फ्लप भनिन्छ भने सायद म फ्लपै होला । तर, म आफ्नो कामबाट सन्तुष्ट छु’, उनले ओठमा मिठो मुस्कान च्याप्दै भनिन् । मिरुनाको यो कुरा चित्त बुझाउने बाटो हुनसक्ला तर व्यवहारिक रुपमा एउटा कलाकारको करिअर मजबुत बनाउन फिल्मको व्यापारिक नतिजा महत्त्वपूर्ण रहन्छ । लगातार फिल्म पाउनुले सफलताको मापन गर्दैन ।

