
बरिष्ठ फिल्म निर्देशक किशोर राना मगरको निधन भएको छ । लामो समयदेखि मृगौला रोगबाट ग्रसित उनको ६४ वर्षको उमेरमा बुधबार निदान हस्पिटलमा निधन भएको हो । 'सीमारेखा', 'करोडपति', 'राँको', 'एक नम्बरको पाखे' जस्ता सफल फिल्म निर्देशन गरेका उनको बिहीबार वा शुक्रबार मात्र अन्त्येष्टि हुने जानकारी प्राप्त छ ।
पछिल्लो समय फिल्म 'प्रतिबिम्ब' निर्माणको क्रममा निर्देशक रानामा स्वास्थ्य समस्या देखा परेको थियो । मृगौलामा समस्या देखापछि उनले भारतको बैंगलोरमा गएर २ पटक डाइलिसिस गरेका थिए । त्यसपछि फेरि निमोनियाले ग्रसित भएपछि उनको दुबै मृगौलामा खराबी आएको थियो । विगत ६ वर्षदेखि उनले नियमित डाइलिसिस गर्दै आएका थिए ।
आर्थिक अभावका कारण रानाले मृगौला प्रत्यारोपन गर्न सकेका थिएनन् । उनको मृगौला प्रत्यारोपणको लागि रकम जुटाउने अभियान पनि थालिएको थियो । निर्देशक रानाले स्वास्थ्य अवस्थामा सुधार भए चाँडै फिल्म निर्माणमा फर्किने आशा व्यक्त गरेका थिए । २०१२ साल माघ ७ गते सुनसरीमा जन्मिएका निर्देशक रानाको पूर्खौली घर गुल्मी हो ।
बलिउडमा करीब १५ वर्ष विताएका उनले नेपाली फिल्ममा पहिलो पटक विएस थापाको फिल्म 'कान्छी' मा सहायक निर्देशकको रुपमा काम गरेका थिए । भने, 'राँको' बाट निर्देशकको रुपमा डेब्यू गरेका थिए । उनी पहिलो भोजपुरी फिल्मको लेखक तथा निर्देशक समेत हुन् । उनकी श्रीमती गायिका संगीता राना प्रधान हुन् ।
फिल्मीखबर डटकम परिवार निर्देशक किशोर राना मगरप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गर्दछ ।

