Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘पासवर्ड’ प्रिमियरका लागि सन्नी नेपाल आउने

फिल्मीखबर, काठमाण्डौ, 2019/08/21
बलिउडकी अभिनेत्री सन्नी लियोनी नेपाली फिल्मको हिस्सा बनिसकेकी छन् । उनले पहिलो पटक नेपाली फिल्म ‘पासवर्ड’ को ‘आजको शाम’ बोलको गीतमा ठुम्का लगाएकी छन् । दुई महिना अगाडि यूट्युब रिलिज भएको यो गीतलाई अहिलेसम्म ४० लाखभन्दा बढीको नजर परिसकेको छ । नेपाली ३ करोड बुझेर सन्नीले यो गीत गरेको निर्माण टिमले बताएको छ । 
 
 
सन्नी जोडिएसँगै चर्चामा रहेको फिल्म ‘पासवर्ड’ यही भदौ २७ गते प्रदर्शनमा आउँदैछ । फिल्मको प्रिमियर प्रदर्शनको तीन दिन अगाडि राजधानीमा हुँदैछ, जसका लागि भारतबाट अभिनेत्री सन्नी नेपाल आउने पक्का भएको छ । मंगलबार साँझ एक भिडियो सन्देशमार्फत् उनले आफू फिल्मको प्रिमियरमा सहभागी हुन नेपाल आउन लागेको जानकारी दिएकी छन् । 
 
‘नमस्ते नेपाल । म सन्नी लियोनी । मैले अभिनय गरेको नेपाली फिचर फिल्म ‘पासवर्ड’ को प्रमोसनल इभेन्ट र प्रिमियरमा सहभागी हुन म सेप्टेम्बर ११ मा नेपाल आउँदैछु’, उनले भिडियोमा भनेकी छन् । सन्नीले फिल्म निर्माण गरेको ब्यानर एबी इन्टरनेसनललाई सफलताको शुभकामना पनि दिएकी छन् । उनी तीन दिन नेपाल बस्ने कार्यक्रम छ । 
 
फिल्मको प्रिमियरमा सहभागी हुनु पर्ने सर्तसहित निर्माण टिमले सन्नीलाई गीतमा नाच्नका लागि महँगो पारिश्रमिक तिरेको थियो । उनी सर्त बमोजिम नेपाल आउने भएपछि फिल्मको प्रिमियरका लागि विशेष तयारी थालिएको छ । यो फिल्ममा उनको आइटम नृत्यसँगै अभिनय पनि रहेको बताइएको छ । फिल्मको अघिकांश छायांकन लण्डनमा भएको हो । 
 

 

अनुप विक्रम शाही, रविन्द्र झा, बुद्धि तामाङ, धिरेन शाक्य, विक्रम जोशी, छुल्ठिम गुरुङलगायतका कलाकारहरुको अभिनय रहेको फिल्मलाई हिरल जोशी र अमित बस्नेतले मिलेर निर्माण गरेका हुन् । अंकित गौतम कार्यकारी निर्माता रहेको फिल्ममा अजित के. थापा सह-निर्माताको रुपमा रहेका छन् । सौरभ लामाले खिचेको फिल्मका निर्देशक सम्राट बस्नेत हुन् ।

Most Visited News (monthly)