Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(10 votes, avg 5.00/5.00)
Text size:-
+
-

बलियो प्रमाण जुटाउन शिल्पाको चाल !

फिल्मीखबर, काठमाण्डौ, 2019/08/20
२०७३ असार २९ गते राजधानीको एक रिसोर्टमा अभिनेत्री शिल्पा पोखरेलले आफूभन्दा आधा उमेर बढी निर्माता छविराज ओझासँग सुटुक्क विवाह गरिन् । विवाह समारोहमा शिल्पाको तर्फबाट आमा-बुबा र तिहारमा टिका लगाएको दाई विकास रौनियार र उनकी श्रीमती सम्झना रौनियार उपस्थित थिए । भने, छविराजले आफ्ना दुई विश्वासिला पात्र अभिनेता पृथ्वीराज प्रसाईं र कान्तिपुर फिल्म एकेडेमीका प्रकाश पुरीलाई बोलाएका थिए । 
 
 
म्यूजिक भिडियोमा राम्रो स्थान बनाएकी शिल्पालाई छविले आफ्नो फिल्म ‘लज्जा’ बाट फिल्म अभिनयमा ब्रेक दिएका थिए । यो फिल्मको सेटबाट दुईको प्रेम अंकुराएको थियो । यसपछि छविले शिल्पालाई फिल्म ‘हवल्दार सुन्तली’ मा दोहोर्‍याए । दुबै फिल्म हिट भएपछि ‘किस्मत २’ मा पुनः दुईको सहकार्य भयो । तर, यो फिल्म प्रदर्शनमा आउनुभन्दा ३ महिना अगाडि नै दुई बैबाहिक जीवनमा बाँधिसकेका थिए । दुनियाँको अगाडि भने ‘चाँडै बिहे गर्छौं’ भन्दै नाटक रचे । 
 
यो शिलशिला गएको दुई वर्ष अगाडि प्रदर्शनमा आएको फिल्म ‘मंगलम’ सम्म चल्यो । विवाह बन्धनमा बाँधिएर पनि फिल्म चलाउनका लागि फण्डा स्वरुप उनीहरुले प्रेमको चर्चा चलाए । फिल्मको प्रचार-प्रसारमा यसले केही हदसम्म मद्दत पनि गर्‍यो । तर, यो फिल्म हलबाट उत्रिएसँगै दुईको सम्बन्धमा पनि फाटो आउन थाल्यो । अहिले छवि र शिल्पाको बैबाहिक सम्बन्ध अब कहिल्यै नसम्हालिने गरि विग्रिएको छ । शिल्पाले छविको घर छाडिसकेकी छन् । 
 
गएको असारमा महानगरीय प्रहरी परिसर काठमाडौं, टेकुमा अभिनेत्री शिल्पाले छविविरुद्ध घरेलू हिंसाको उजुरी दिएकी थिइन् । उनले आफ्नो कानको जाली फट्ने गरि कुटपिट गरेको आरोप श्रीमान् ओझामाथि लगाएकी थिइन् । प्रहरीले दुईबीच अब कहिल्यै झगडा नगर्ने सहमति गरायो र घर फर्कायो । तर, शिल्पा र छविको झगडा परालको आगो भएन । झन् दन्कियो । शिल्पाले अब छविसँग नबस्ने भन्दै डिभोर्स फाइल दर्ता गरिन्, आधा अंश दाबी गर्दै । 
 
 
तर, त्यही बेला कथामा नयाँ ट्विस्ट आयो । जब छविराजकी जेठी श्रीमती हेमा ओझाले छवि र शिल्पाविरुद्ध बहुविवाहको मुद्धा दर्ता गरिन् । छविराजले जेठी श्रीमतीलाई अंश दिइसके पनि डिभोर्स दिएका रहेनछन् । डिभोर्स नहुँदै अर्को विवाह गरेको खण्डमा बहुविवाहको मुद्धा लाग्छ । हेमाले दुईलाई तत्काल पक्राउ गरि कारबाही गर्न माग गर्दै प्रहरीमा जाहेरी दिइन् । र, जिल्ला अदालत र उच्च अदालत दुबैले दुईलाई पक्राउ गर्न आदेश दियो । 
 
अदालतको पक्राउ आदेशपछि छवि र शिल्पा फरार भए । केही समयपछि शिल्पा काठमाडौं जिल्ला अदालत र उच्च अदालतले पक्राउ गरि कारबाही अगाडि बढाउन दिएको आदेशविरुद्ध सर्वोच्च पुगिन् । शुक्रबार सर्वोच्चले शिल्पाको पक्षमा फैसला सुनाउँदै तत्काल पक्राउ नगर्न आदेश जारी गर्‍यो । भदौ १५ गते छलफलका लागि उपस्थिति हुन सार्वेच्चले दुबै पक्षलाई डाकेको छ । यसबीच, शिल्पाले छविराजसँगको विवाहको फोटो सार्वजनिक गरेकी छन् । 
 
सोमबार साँझ शिल्पाले दाई मानेको विकास रौनियारकी श्रीमती सम्झनाले सञ्चालन गरेको ‘सबस्थ इन्टरटेन्मेन्ट’ अनलाइन र यूट्युबमार्फत् विवाहका केही तश्विर सार्वजनिक गरिएको छ । छविसँग नबस्ने निर्णय लिएपछि शिल्पा अहिले रौनियारकै घरमा बस्दै आएकी छन् । यसकारण विवाहको तश्विरहरु उनकै अनुमतिमा सार्वजनिक गरिएको बुझ्न गाह्रो पर्दैन । शिल्पाले आफ्नो पक्षमा प्रमाण बलियो बनाउन यो चाल रचेको हुनसक्ने कतिपयको विश्लेषण छ । 
 
 
दुईको विवाहको फोटोमा केही सीमित व्यक्ति मात्र देखिएका छन् । अभिनेता पृथ्वीराज प्रसाईं र फिल्म एकेडेमीका सिइओ प्रकाश पुरीलाई लोकन्तीको रुपमा लिएर छविराज शिल्पालाई लिन गएको देखिन्छ । तश्विरमा छवि र शिल्पा निकै खुसी मुद्रामा देखिएका छन् । छविराजले आफ्नो देब्रे हात भाँचिएको समयमा शिल्पाको सिउँदोमा सिन्दूर भरेका थिए । विवाहको तश्विरले शिल्पालाई न्याय दिलाउन र कारबाहीबाट बचाउन कस्तो भूमिका खेल्ला ? हेर्न बाँकी छ । 
तश्विर : सबस्थ इन्टरटेन्मेन्ट
Most Visited News (monthly)