गत वर्षको पौष १३ गते आउने निश्चित भएता पनि अन्तिम समयमा प्राविधिक कारण देखाउँदै पोस्टपोन्ड भएको फिल्म ‘बादशाह जुट’ ले नयाँ प्रदर्शन मिति घोषणा गरिएको छ । यो फिल्म अब आउँदो कात्तिक १ गतेबाट प्रदर्शनमा आउने एक पोस्टरमार्फत् जानकारी गराइएको छ । पोस्टरमा फिल्मका लिड अभिनेता सुशील श्रेष्ठ र कलाकार रविन तामाङ फिचर्ड छन् ।
‘बादशाह जुट’ आफूले आफूलाई बादशाह सम्झने दुई युवाको कथामा निर्माण भएको निर्देशक जोनी सिंह राणाले बताए । यसअघि उनले एक बलिउड फिल्म समेत निर्देशन गरिसकेका छन् । उनी आफैंले तयार पारेको कथामा निर्मित यस फिल्ममा आमिर गौतम, रोषी खड्का, केइषा रावत, रश्मि पाण्डे, दीपक क्षेत्री, कमलमणि नेपाललगायतको पनि अभिनय छ ।

फिल्मको गत वर्ष नै ‘काफल पाक्यो’ गीत सार्वजनिक गरिएको थियो । गीतमा अभिनेत्री प्रियंका कार्की प्रमुख फिचर्ड थिइन् । उनी यस फिल्ममा अतिथी भूमिकामा रहेको निर्देशक राणाले बताए । तासको खेलमा बादशाह जुटलाई शक्तिशाली मानिन्छ । पोस्टरमा सुशील र रविनलाई मात्र स्थान दिइनुले फिल्ममा यी दुई आफूलाई बादशाह सम्झने भूमिकामा रहेको अनुमान गर्न गाह्रो पर्दैन ।
एच एण्ड बि फिल्मस् प्रा.लि. र गोल्डेन ग्रेप्स फिल्मस् एण्ड इन्टरटेनमेन्ट प्रा.लि. को संयुक्त व्यानरमा निर्माण भएको फिल्ममा राजु कार्कीको डिओपी, राज कुमार उप्रेतीको द्वन्द्व, कृष्ण भारद्धाज, कोशिस क्षेत्री र मोहित मुनालको संगीत, दिर्घ खड्काको सम्पादन रहेको छ । हर्क बहादुर कुँवर (पिटर) र भोजराज श्रेष्ठ (मिकी) ले फिल्मको निर्माण गरेका हुन् ।

