अभिनेता अक्षय कुमार र अभिनेत्री विद्या बालनको सुपरहिट हरर कमेडी फिल्म ‘भूल भुलैया’ को सिक्वेलको अफिसियल पोस्टर सार्वजनिक भएको छ । ‘भूल भुलैया-२’ मा चकलेटी अभिनेता कार्तिक आर्यन मुख्य भूमिकामा अनुबन्ध भएका छन् । सार्वजनिक दुई पोस्टरमा आर्यनको चरित्र चित्रण गरिएको छ ।
पोस्टरमा कार्तिकले केशरी रंगको वस्त्र लगाएका छन् भने रातो रंगको काउचमा बसेका छन् । उनले घाँटीमा रुद्राक्षको माला पनि लगाएका छन् । दोस्रो पोस्टरमा उनलाई कंकालमा अढेस लगाएको देख्न सकिन्छ । उनको लुक्स प्रियदर्शनको निर्देशनमा बनेको फिल्म ‘भूल भुलैया’ मा अक्षय कुमारको लुक्ससँग निकै मेल खान्छ ।

फिल्मको निर्माण भूषण कुमारको टी-सीरीजले गर्दैछ । फरहाद सामजीले फिल्मको निर्देशन गर्ने चर्चा भएता पनि पोस्टरमा उनको नाम उल्लेख गरिएको छैन । हालैमा उनले सुपरहिट फिल्म ‘हाउसफुल’ को चौथो पार्टको निर्देशन भ्याएका छन् । ‘भूल भुलैया-२’ को कथा फरहाद र आकाश कौशिकले मिलेर तयार पारेका छन् ।
‘भूल भुलैया’ मा अक्षयले एक मनोचिकित्सकको भूमिका निर्वाहा गरेका थिए । भने, विद्या बालनको भूमिका निकै रहस्यमयी देखाइएको थियो । यो फिल्म दर्शकलाई निकै मन परेको थियो । अभिनेको टुंगो नलागेको यसको सिक्वेलमा अक्षयको पनि अभिनय रहने चर्चा छ । तर, अहिलेसम्म यस विषयमा निर्र्माण टिमले कुनै खुलासा गरेको छैन ।

