आगामी ९२ औं एकेडेमी अवार्डस् (द अस्कर अवार्ड) मा सहभागी हुनका लागि नेपाली फिल्मलाई आह्वान गरिएको छ । आफ्नो फिल्म अस्कर अवार्डमा सहभागी गराउन चाहनेले भदौ १३ गते शुक्रबारसम्म दर्ता गरिसक्नुपर्ने नेपालको अस्कर अवार्ड समितिले जनाएको छ ।
अस्कर अवार्ड समारोह सन् २०२० फेब्रुअरी ९ तारिख आइतबारका दिन अमेरिकाको लस् एन्जेलसको डल्बी थिएटरमा आयोजना हुँदैछ । प्रतियोगितामा नेपालको फिल्मले अन्तर्राष्ट्रिय फिचर चलचित्र विधामा प्रतिस्पर्धा गर्न पाउनेछ ।

नेपालको अवार्ड अवार्ड समितिले जारी गरेको विज्ञप्तीमा भनिएको छ, 'प्रतिस्पर्धामा भाग लिन चाहेको फिल्म २०७५ असोज १५ गतेभन्दा पछि तथा २०७६ साल भदौ १३ गतेभन्दा पहिला नै सार्वजनिक प्रदर्शन गरिएको हुनु पर्नेछ ।'
अमेरिकाको एकेडेमी अफ मोसन पिक्चर आर्ट्स एन्ड साइन्सेसद्वारा तोकिएका सबै मापदण्ड पुग्ने एउटा मात्र नेपाली फिल्म अस्करका लागि पठाइनेछ । नेपालको अस्कर अवार्ड समितिको अध्यक्षमा विमल पौडेल रहेका छन् ।

