गएको जेठमा प्रदर्शनमा आएको सुपरहिट फिल्म ‘जात्रै जात्रा’ पछि कुनै फिल्मले बक्सअफिसमा अपेक्षाकृत व्यापार गर्न सकेका छैनन् । आश गरिएका फिल्मले समेत दर्शक हलमा तान्न नसकेको अवस्थामा बिहीबारबाट प्रदर्शनमा आएको मल्टीस्टारर फिल्म ‘हजार जुनीसम्म’ ले सुस्ताएको फिल्मको बजारलाई फेरि उठाउने अपेक्षा गरिएको थियो । तर, सफल हुने लक्षण देखिएको छैन ।
जनै पूर्णिमाको विदा खाने लोभले शुक्रबार प्रदर्शनमा आउनु पर्ने नियम तोड्दै बिहीबारबाटै हलमा लागेको यो फिल्मले बक्सअफिसमा अपेक्षाकृत व्यापार गर्न नसकेको रिपोर्ट प्राप्त छ । हलसम्म फिल्मले अपेक्षाअनुसार दर्शक तान्न सकेको छैन । बिहीबार र शुक्रबार औसत व्यापार गरेको फिल्मको शनिबारको कलेक्सन ग्राफ केही माथि छ । तर, उत्साहजनक भने छैन ।
(1).jpg)
तर, वितरक विक्रम पराजुलीका अनुसार, ‘हजार जुनीसम्म’ ले प्रदर्शनको तीन दिनमा निर्देशक विकासराज आचार्यको अघिल्ला फिल्मको भन्दा राम्रो व्यापार गरेको छ । व्यापार नखुलाउने सर्तमा उनले फिल्मीखबरसँग भने, ‘हामीले अपेक्षा गरेभन्दा फिल्म बक्सअफिसमा खरो उत्रिएको छ । तीन दिनमा फिल्मले निकै राम्रो व्यापार गरेको छ । हामी फिल्मको व्यापारबाट सन्तुष्ट छौं ।’
उनले फिल्मको व्यापार मल्टीप्लेक्सभन्दा सिंगल स्क्रिनमा राम्रो रहेको बताए । बलिउडका दुई फिल्म ‘मिशन मंगल’ र ‘बाटला हाउस’ का कारण मल्टीप्लेक्समा फिल्मले कम सोज पाएको भएता पनि व्यापार नराम्रो भने रहेको उनको भनाई छ । तर, मल्टीप्लेक्सहरुले दिनहुँ फिल्मको सोजमा कटौती गर्दै जानुले वितरक पराजुलीको बोलीमा विश्वास गर्न गाह्रो छ । फिल्मलाई दर्शकबाट मिश्रित प्रतिक्रिया मिलेको छ ।
यस फिल्ममा आर्यन सिग्देल, स्वस्तिमा खड्का, अनुभव रेग्मी, सलोन बस्नेत, अखिलेष प्रधान, सञ्चिता लुईंटेल, शिवहरी पौडेल, प्रियंका कार्कीलगायतका कलाकारहरुको अभिनय छ । फिल्मलाई पुरुषोत्तम प्रधानले खिचेका हुन् । फिल्मको पटकथा सामिप्यराज तिमल्सेनाले तयार पारेका हुन् । कविता रेग्मी कार्यकारी निर्माता रहेको फिल्मको निर्मातामा विशाल चाम्लिङ छन् ।

