चकलेटी ब्वाई आर्यन सिग्देलको रोमान्टिक-कमेडी फिल्म ‘च च हुई’ को अफिसियल पोस्टर सार्वजनिक भएको छ । मंसिर ६ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्मको सार्वजनिक दुई पोस्टरमा अभिनेत्री मिरुना मगरप्रति आर्यनको प्रेम दर्शाइएको छ । मिरुनालाई लजालु युवतीको रुपमा चित्रण गरिएको छ । आर्यन र मिरुनासँगै कलाकार द्वय भोलाराज सापकोटा र माओत्से गुरुङ पनि पोस्टरमा फिचर्ड छन् ।
साम्तेन भुटिया निर्देशित यो फिल्मलाई एजीएल इन्टरटेनमेन्टको ब्यानरमा अमृत घोले लामाले निर्माण गरेका हुन् । व्यवसायी घोले यही फिल्ममार्फत् निर्माणमा आएका हुन् । पुस्कर गुरुङ, बबिता मल्ललगायतको पनि फिल्ममा अभिनय छ । निर्देशक भुटिया स्वयंको सम्पादन रहेको फिल्मलाई सुशन प्रजापतिले खिचेका हुन् । ‘च च हुई’ को पटकथा सिजन दाहाल र सन्देश अर्यालले लेखेका हुन् ।
फिल्मका गीतमा राजनराज शिवाकोटी, सुरज शाही ठकुरी र रोशन थापाको संगीत छ । श्री श्रेष्ठको द्वन्द्व र शिशिर खातीको फिल्ममा कोरियोग्राफी छ । अभिनेता आर्यन आफूलाई फिल्ममा रोमान्टिक र कमेडी अन्दाजमा देख्न सकिने बताए । उनी भन्छन्, ‘फिल्ममा मलाई विदेशबाट राष्ट्रियता सम्झेर देश फर्किने युवाको भूमिकामा देख्न सक्नुहुनेछ । बिना सम्झौता फिल्म बनेका कारण दर्शकलाई मनपर्नेमा विश्वस्त छु ।’
फरक धारका फिल्ममा रमाइरहेका निर्देशक साम्तेनले यसपटक आफूले कमर्शियल फिल्म बनाउने प्रयत्न गरेको बताए । उनले भने, ‘फिल्म रोमान्टिक कमेडी हो । मैले निर्देशन गरेको पछिल्ला फिल्मको तुलनामा यो पूरै फरक छ । आर्यनलाई हामीले उनलाई सुहाउने क्यारेक्टरमा प्रस्तुत गरेका छौं । आर्यनलाई रोमान्टिक र कमेडी अवतारमा दर्शकले देख्नुहुनेछ ।’ अभिनेत्री मिरुनाले फिल्मलाई लिएर आफू उत्साहित रहेको बताइन् ।

