भाद्र ६ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘जाइरा’ टिम प्रचारलाई चुस्त बनाउन मोफसल यात्रामा निस्किएको छ । नेपाली फिल्मको दोस्रो ठूलो बजार मानिने पोखरामा शुक्रबार दिनभरी नै फिल्मको टिमले प्रचार-प्रसारका विभिन्न कार्यक्रम गर्यो । मोफसल यात्रामा फिल्मकी लिड अभिनेत्री नम्रता श्रेष्ठ, नकारात्मक भूमिकामा रहेका अभिनेता प्रमोद अग्रहरी, नव अभिनेत्री सुजिता श्रेष्ठ, कलाकार सम्राट मगरलगायत छन् ।


लेकसाइडमा रहेको डुंगा रेष्ट्रोमा आयोजित पत्रकार सम्मेलनमा पोखरामा स्थायी बसोबास गर्ने कलाकार सम्राट मगरलाई सञ्चारकर्मीमाझ परिचित गराइएको थियो । 'फिटनेस ट्रेनर' सम्राटले यो फिल्मबाट अभिनयमा डेब्यू गरेका हुन् । फिल्ममा उनी जाइरा अर्थात् नम्रता श्रेष्ठको कोचको भूमिकामा छन् । उनले फिल्ममा अभिनय गर्दा पाउँदा खुसी महशुस भएको बताए । उनको अभिनेत्री नम्रताले पनि तारिफ गरिन् ।
'तपाईँले आँफैले लगानि गरेर जोखिम मानिने महिला प्रधान एक्शन चलचित्र बनाउने हिम्मत कसरी गर्नुभयो ?' भन्ने सञ्चारकर्मीको प्रश्नमा नायिका नम्रता श्रेष्ठले अरुले हिम्मत नगरेकोले आफूले एक्सन फिल्म बनाउन हिम्मत गरेको बताइन् । आफूले यस प्रकारको भूमिकामा अभिनय गर्न सक्दिनँ भन्ने भ्रमलाई चिर्दै अभिनय गरेको उनको भनाई छ । उनी फिल्मकी निर्माता समेत हुन् ।
चरित्रलाई आत्मसात् गर्न आठ महिना लामो तालिम लिएर मार्शल आर्टका सबै फर्म सिकेको उनले बताइन् । उनी भन्छिन्, ‘मिक्स मार्शल आर्ट फाइटसँग नेपालीहरु त्यति धेरै परिचित नभएकोले फिल्म केही अनौठो लाग्न सक्छ तर फिल्म राम्रो बनेका कारण सफल हुनेमा विश्वस्त छु । मलाई लभर गर्लको भूमिकामा दर्शकले निकै रुचाउनुभएको छ । एक्सन भूमिकामा पनि मन पराउनुहुन्छ भन्नेमा आशावादी छु ।’
पत्रकार सम्मेलनमा अभिनेता प्रमोद अग्रहरीको लुक्सको चर्चा भयो । ट्रेलरमा देखिएको लुक्सबारे सञ्चारकर्मीको जिज्ञासामा उनले फिल्म हेरेपछि उक्त राज खुल्ने बताए । अग्रहरीले ‘जाइरा’ मा आफू नेगेटिभ भूमिकामा भएकोले ट्रेलरमा केही ग्ल्यामर देखिएको प्रष्ट्याए । उनले फिल्ममा पनि स्वभावतः ग्ल्यामर देखिने खुलाए । त्यस्तै, पोखरामा ‘टम्बल वीड’ ब्याण्डले फिल्मको ओरिजिनल साउण्ड ट्रयाक ‘जिन्दगीको खेल’ को प्रस्तुती दिएको थियो ।


उक्त ओएसटी इन्टरनेटमा केही दिनमा सार्वजनिक गरिने बताइएको छ । फिल्मको ओएसटी निर्माण गरेको उक्त ब्याण्ड सोही प्रस्तुतीको लागि पोखरा पुगेको थियो । लेकसाइडमा नै रहेको अल्टिच्युड लञ्जमा ‘मिट एण्ड ग्रिट’ कार्यक्रमको आयोजना गरिएको थियो । आशुतोष राज श्रेष्ठले निर्देशन गरेको ‘जाइरा’ मा नम्रता श्रेष्ठ, अनुप बिक्रम शाहि, प्रमोद अग्रहरी, श्रृजना रेग्मी, सुजिता श्रेष्ठ, सम्राट मगर लगाएतका कलाकारहरुको अभिनय रहेको छ ।

