Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

साम्राज्ञीलाई चटारो !

फिल्मीखबर, काठमाडौं, 2019/08/16
अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले फिल्ममा प्रवेश गरेको छोटो समयमा जुन ‘नेम र फ्रेम’ पाइन् त्यो साँच्चै लोभलाग्दो छ । फिल्ममा आफूलाई स्थापित गर्न उनले खासै संघर्ष गर्नु परेन । डेब्यू फिल्म ‘ड्रिम्स’ ले नै उनलाई करिअर फर्किएर हेर्नु नपर्ने अवस्थामा पुर्‍यायो । अहिले उनी नेपाली फिल्मकी सर्वाधिक महँगी र डिमान्डेड अभिनेत्री हुन् । उनलाई फिल्मलाई लिन मेकरबीच तानातान हुने गरेको छ । 
 
बोल्ड अभिनेत्रीको छवि बनाएकी साम्राज्ञी अरु अभिनेत्री जस्तो बग्रेल्ती फिल्म गर्दिनन् । वर्षमा उनको २ फिल्म प्रदर्शनमा आउँछन् । तर, निकै कम समयको अन्तरमा । गत वर्ष ‘कायरा’ र ‘इन्टु मिन्टु लण्डनमा’ प्रदर्शनमा आएको थियो, डेढ महिनाको अन्तरमा । यस वर्ष पनि उनका दुई फिल्म ‘मारुनी’ (भाद्र १३) र ‘रातो टिका निधारमा’ (असोज १०) एक महिनाको अन्तरमा हलमा लाग्दैछन् । 
 
 
एकपछि अर्को फिल्म छोटो समयमा प्रदर्शनमा आउनु कलाकारको करिअरका लागि निको मानिन्न । यूट्युबमा फिल्म कुर्ने बानी बसेको अवस्थामा एउटै कलाकारको फिल्म महिनैपिच्छे हेर्न हलमा पुग्न दर्शकले जाँगर चलाउँदैनन् । फिल्मले हलमा दर्शक तान्न सकेन भने घाटा निर्मातासँगै कलाकारलाई पनि हुन्छ । तर, फिल्म रिलिज गर्ने अधिकार निर्माताको हातमा हुने हुँँदा कलाकार निरीह हुन्छन् । 
 
निर्माता-निर्माताबीचको व्यवसायिक द्वन्द्वमा फसेकी साम्राज्ञीलाई दुई फिल्म महिना दिनको अन्तरमा प्रदर्शनमा आउने भएपछि ठूलै चटारो सुरु भएको छ । दुई फिल्मको अहिले उनलाई एकसाथ प्रचार गर्नुपरेको छ । ‘मारुनी’ र ‘रातो टिका निधारमा’ दुबै फिल्मको फोरममा उनले दुबै फिल्मको चर्चा गर्न भ्याउँछिन् । दुई फिल्ममा आफूले करिअरको सबैभन्दा चुनौतीपूर्ण भूमिका निर्वाहा गरेको उनको भनाई छ । 
 
फोटो विवादले करिअर बचाउनै मुश्किल भइरहेको अवस्थामा साम्राज्ञीका लागि दुई फिल्मको व्यापारिक नतिजा निकै महत्त्वपूर्ण मानिएको छ । उनलाई आफ्नै काँधमा बोकेर फिल्म सफल बनाउन सक्ने अभिनेत्री भन्ने गरिन्छ । तर, ‘ड्रिम्स’ र ‘ए मेरो हजुर २’ बाहेक उनका अन्य फिल्मले निर्माता बचाउन सकेका छैनन् । के ‘मारुनी’ र ‘रातो टिका निधारमा’ ले फ्लपको श्रृंखलामा पूर्णविराम लगाउला ? यसका लागि प्रतिक्षा गर्नैपर्ने हुन्छ । 
Most Visited News (monthly)