Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(19 votes, avg 5.00/5.00)
Text size:-
+
-

फेरि अनमोलसँगै बाँधिएला सुहानाको जोडी ?

फिल्मीखबर, काठमाडौं, 2019/08/16
गत वर्षको अन्तिममा प्रदर्शनमा आएको ब्लकबस्टर फिल्म ‘ए मेरो हजुर ३’ बाट डेब्यू गरेकी अभिनेत्री हुन्, सुहाना थापा । यो फिल्मले बक्सअफिसमा १० करोडको आसपासमा व्यापार गरेको रिपोर्ट प्राप्त छ । फिल्मले निर्मातालाई बोरामा पैसा मात्र दिएन, सुहानालाई पनि ‘स्टार’ बनायो । फिल्ममा उनको अभिनयले गजबकै प्रशंसा भयो । अहिले उनलाई राम्रो सम्भावना बोकेको अभिनेत्रीको रुपमा हेरिएको छ । 
 
अभिनेत्री झरना थापाकी छोरी सुहानाले डेब्यू फिल्मबाटै लोभलाग्दो फ्यान फलोइंग र स्टारडम कमाएकी छन् । अहिले उनलाई बाहिरी ब्यानरबाट फिल्मको अफर पनि राम्रो छ । तर, उनलाई तत्काल बाहिरी ब्यानरको फिल्म गर्न अनुमति छैन । निर्माता सुनिल कुमार थापाका अनुसार, अध्ययन पूरा भएपछि मात्र सुहानाले बाहिरी ब्यानरको फिल्म गर्नेछिन् । तर, घरको फिल्ममा लञ्च गर्न भने सुनिललाई छोरीको अध्ययन बाधक बनेन !
 
 
गएको दुई महिनादेखि ‘ए मेरो हजुर ३’ को प्रदर्शनका लागि अभिनेत्री तथा निर्देशक झरना र अभिनेत्री सुहाना विदेशमा छन् । यो फिल्मको दर्जन बढी देशमा सफल प्रदर्शन भइसकेको छ । अझै केही देशमा बाँकी छ । झरना नेपाल फर्किएपछि नयाँ फिल्मको तयारीमा जुट्ने बताइएको छ । उनको हातमा अहिले दुई फिल्मको स्क्रिप्ट छ- ‘ए मेरो हजुर ४’ र ‘भागवत गीता’ । दुईमध्ये कुन अगाडि बन्नेछ ? अहिलेसम्म अन्योल छ । 
 
निर्देशक थापा ‘ए मेरो हजुर २’ लगत्तै स्क्रिप्ट लक भइसकेको ‘भागवत गीता’ बनाउने तयारीमा थिइन् । तर, वितरकको आग्रह नकार्न नसकेर ‘ए मेरो हजुर ३’ बनाइन् । अब उनी ‘ए मेरो हजुर’ लाई एक वर्ष रोकेर ‘भागवत गीता’ लाई अगाडि सार्न चाहन्छिन् । तर, वितरकले उनलाई ‘ए मेरो हजुर ४’ बनाउन आग्रह गरिरहेका छन् । जित वितरकको हुनेछ वा झरनाको ? यसका लागि केही समय प्रतिक्षा गर्नैपर्ने हुन्छ । 
 
झरना फेरि छोरी सुहानाको जोडी अभिनेता अनमोल केसीसँगै बाँध्न चाहन्छिन् । यूरोप उड्दै गर्दा उनले भनेकी थिइन्, ‘भागवत गीता’ मा मेरो पहिलो रोजाइ अनमोल र सुहाना नै हुनेछन् । ‘ए मेरो हजुर ४’ मा नयाँ अनुहार लिन चाहन्छु ।’ प्राप्त जानकारी अनुसार, ‘भागवत गीता’ को स्क्रिप्ट अनमोलले सुनिसकेका छन् । तर, निर्णय दिएका छैनन् । फेरि अनमोलसँगै सुहानाको जोडी बाँधिने छ वा छैन ? सबैलाई चासो छ ।
Most Visited News (monthly)