Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(16 votes, avg 4.88/5.00)
Text size:-
+
-

पुष्पलाई फिल्म ठूलो कि अवार्ड ?

फिल्मीखबर, काठमाण्डौ, 2019/08/15
जब फिल्म प्रदर्शनको संघारमा हुन्छ तब बेपत्ता हुने नेपाली कलाकारको पुरानै रोग हो । प्रचारको समयमा कलाकारले साथ नदिँदा निर्माता/निर्देशकले हैरानी खेप्नु परेका उदाहरण फिल्म क्षेत्रमा बग्रेल्ती छन् । प्रचारमा निर्देशक र निर्माता हिँँडेर हुँदैन । दर्शकमाझ फिल्मको जानकारी पुर्‍याउन कलाकारले मात्र सक्छन् । तर, कलाकारले नै प्रचारमा बेवास्ता गर्दा निर्माताको करोडौंको लगानी बालुवामा पानी हालेझैँ भइरहेको छ ।
 
 
प्रायः नेपाली कलाकार फिल्ममा काम गरिसकेपछि आफ्नो धर्म पूरा भएको ठान्छन् । प्रचारमा हिँड्न आवश्यक ठान्दैनन् । कति कलाकारले प्रचारमा हिँड्नका लागि समेत निर्माताबाट पारिश्रमिक माग्ने गरेको सुन्ने गरिन्छ । आफ्नो मात्र दुनो सोझ्याउने कलाकारको यस प्रकारको शैलीले घरजग्गा बेचेर फिल्ममा लगानी गर्ने निर्माताहरु पुर्पुरोमा हात राख्न बाध्य छन् । त्यसैले भन्ने गरिन्छ- एकपटक कलाकार पनि निर्माता बन्नु पर्छ । 
 
फिल्म ‘मंगलम’ बाट राष्ट्रिय अवार्ड जितेका अभिनेता पुष्प खड्कालाई पनि निर्माताको पीडा बुझ्न एकपटक आफैं निर्माता बन्न आवश्यक देखिएको छ । उनको नयाँ फिल्म ‘मारुनी’ प्रदर्शनमा आउन अब १५ दिन बाँकी छ । भाद्र १३ मा फिल्म प्रदर्शन हुँदैछ । तर, पुष्प अहिले कतारमा रमाइरहेका छन् । निर्माण टिम भने दिन-रात भोक-निन्द्रा नभनि प्रचारमा दौडिरहेको छ । एक अवार्ड कार्यक्रममा सहभागी हुन उनी त्यहाँ पुगेका हुन् । 
 
अवार्ड पाउने लोभले उनी कतार पुगेका हुन् वा ‘मारुनी’ प्रचारबाट भाग्न ? त्यसको जवाफ उनीसँँगै होला । तर, प्रदर्शनको मुखमा रहेको फिल्मको प्रचार प्रभावकारी बनाउन ध्यान दिनु पर्ने समयमा अवार्डको बहाना बनाएर विदेश उड्नु आफ्नो कर्तव्यबाट पुष्प भाग्न खोजेको कतिपयको टिप्पणी छ । कतारमा रमाइरहेको तश्विरहरु उनले सामाजिक सञ्जालमा पोस्ट्याउँदै गर्दा फिल्मकी लिड अभिनेत्री साम्राज्ञी आरएल शाह भने एक्लै प्रचारमा हिँडिरहेकी छन् । 
 

प्रचार गतिलो नहुँदा फिल्मले हलमा पानी भन्न नपाएका उदाहरण फिल्म क्षेत्रमा प्रशस्त छन् । ‘मारुनी’ ले खडेरी लागेको फिल्मको व्यापार चलायमान बनाउने अपेक्षा लिइएको छ । ट्रेलर र गीतसंगीतले फिल्मको राम्रो हाइप निर्माण गरेको छ । तर, हलसम्म दर्शक तान्न यो पर्याप्य छैन । यसका लागि प्रचार गतिलो हुनुपर्छ । दर्शकसम्म फिल्मबारे जतिभन्दा धेरै जानकारी पुर्‍याउन आवश्यक छ । तर, पुष्पलाई यसको कुनै चिन्ता त छ ? 
 
‘मारुनी’ बक्सअफिसमा साउथ सुपरस्टार प्रभास अभिनीत फिल्म ‘साहो’ सँग भिड्दैछ । यसको डरले निर्माताको भोक-निन्द्रा हराएको छ । प्रचार राम्रो भए दर्शकको साथ पाउनेमा निर्माण टिम आशावादी छ । तर, बिडम्बना ! फिल्मका प्रमुख अभिनेता नै प्रचार लत्याएर अवार्डको प्रचार गर्न कतार पुगेका छन् । पुष्पलाई फिल्मभन्दा ठूलो अवार्ड लागेको त होइन ? कि, ‘मारुनी’ रिलिज हुँदैछ भन्ने नै विर्सिए ? आशा गरौं, फिल्म रिलिज अगावै उनी नेपाल ओर्लिनेछन् । 
Most Visited News (monthly)