नेपालमा नेपाली फिल्म चारवटा मुख्य पर्व (दशैं, तिहार, तीज र नयाँ वर्ष) बाहेक अरू बेला शुक्रबार मात्र रिलिज गर्न पाइने नियम छ । तर, मल्टीस्टारर फिल्म ‘हजार जुनीसम्म’ भने रक्षा बन्धनको अवसरमा बिहीबारबाटै प्रदर्शनमा आएको छ । यसअघि चलचित्र विकास बोर्डले शुक्रबार मात्रै प्रदर्शन गर्ने पर्ने अडान राख्दा संसारभर बुधबार प्रदर्शनमा आएको बलिउड फिल्म ‘कलंक’ नेपालमा शुक्रबार प्रदर्शन भयो । नेपाली फिल्मलाई भने बोर्डले अंकुश लगाउन सकेन ।
एकदिने विदा खाने लोभले ‘हजार जुनीसम्म’ ले बिहीबार (साउन ३०) आउने घोषणा गरेको थियो । तर, सरकारले यस वर्ष रक्षा बन्धन तथा जनै पूर्णिमाको विदा दिएको छैन । फिल्मलाई विदा निकै महत्त्वपूर्ण रहन्छ । विदामा फिल्मको व्यापार निकै राम्रो हुने गर्छ । यो फिल्मलाई अब शनिबारको विदाको पखाई छ । यस फिल्ममाथि खडेरी लागेको नेपाली फिल्मको व्यापार चलायमान बनाउने अपेक्षा राखिएको छ । फिल्मका निर्देशक विकासराज आचार्य हुन् ।
(2).jpg)
गीतसंगीत र ट्रेलरले राम्रो हाइप निर्माण गरेको यस फिल्ममा आर्यन सिग्देल, स्वस्तिमा खड्का, अनुभव रेग्मी, सलोन बस्नेत, अखिलेष प्रधान, सञ्चिता लुईंटेल, शिवहरी पौडेल, प्रियंका कार्कीलगायतका कलाकारहरुको अभिनय छ । फिल्मलाई पुरुषोत्तम प्रधानले खिचेका हुन् । फिल्मको पटकथा सामिप्यराज तिमल्सेनाले तयार पारेका हुन् । कविता रेग्मी कार्यकारी निर्माता रहेको फिल्मको निर्मातामा विशाल चाम्लिङ छन् ।
यो फिल्मले मल्टीप्लेक्समा राम्रो सोज हात पारेको छ । अधिकांश सिंगल थिएटरमा आफ्नो उपस्थिति जनाएको छ । जेठमा प्रदर्शनमा आएको फिल्म ‘जात्रै जात्रा’ पछि कुनै फिल्मले गतिलो व्यापार गर्न नसकेको अवस्थामा ‘हजार जुनीसम्म’ ले दर्शकको ठूलो भीड हलसम्म डोर्याउन सफल हुने विश्लेषण गरिएको छ । यो फिल्ममाथि दर्शकको पनि ठूलो अपेक्षा छ । किनकि, ‘नाईं नभन्नू ल’ सिरिजका निर्देशक हुन्, विकास । उनका फिल्मको दर्शकमा सधैं पखाई रहने गर्दछ ।
यसलाई सिंगल स्क्रिनमा सहज भए पनि मल्टीप्लेक्समा टिक्न गाह्रो छ । किनकि, यो फिल्मसँगै बलिउडका दुई ठूला फिल्म अक्षय कुमारको ‘मिशन मंगल’ र जोन अब्राहमको ‘बाटला हाउस’ पनि प्रदर्शनमा आएका छन् । ‘वर्ड अफ माउथ’ बलियो नभए दुई फिल्मको अगाडि मल्टीप्लेक्समा ‘हजार जुनीसम्म’ लाई टिक्न सहज हुने छैन । यसकारण, फिल्मलाई बक्सअफिसमा लामो रेसको घोडा बन्न दर्शक र समीक्षकबाट तारिफ बटुल्न आवश्यक छ ।

