गएको २ वर्ष अगाडि प्रदर्शनमा आएको फिल्म हो, ‘लप्पन छप्पन’ । बक्सअफिसमा औसत व्यापार गरेको यो फिल्मको अहिले सिक्वेल बनिरहेको छ । फिल्मको हाल यूरोपको विभिन्न स्थानमा छायांकन भइरहेको छ । मुकुन्द्र भट्टले क्याप्टेनसिप सम्हालेको फिल्मलाई ‘डेन्जरस गेम’ भनिएको छ । आउँदो शिवरात्रीको छेको अर्थात् फागुन ९ मा फिल्म प्रदर्शनमा आउँदैछ ।
‘लप्पन छप्पन २’ को छायांकनका लागि अहिले चार भर्सटायल अभिनेता दयाहाङ राई, सौगात मल्ल, अर्पण थापा र अनुपविक्रम शाही यूरोपमा छन् । मंगलबार अनुपले आफ्नो अधिकारिक फेसबुकमा चारजना एकै ठाउँमा उभिएको तश्विर फेसबुकमा साझेदार गरेका छन्, जसमा सौगातलाई फरक गेटअपमा देख्न सकिन्छ । उनको ग्याङ्गस्टार लुक्स छ ।

यो फिल्मको अघिल्लो श्रृंखलामा दया, सौगात र अर्पणकै प्रमुख भूमिका थियो । तर, अनुप थिएनन् । फिल्मको सिक्वेलमा उनी नेगेभिट रोलमा रहेको बताइएको छ । नम्रता श्रेष्ठ, केरोलिन कोलिन्डा, सुरविना कार्की, सृजना सिना, देव कुमारलगायतका कलाकारहरुको पनि फिल्ममा अभिनय रहनेछ । पुराना अभिनेता शिव श्रेष्ठ समेत फिल्ममा प्रमुख भूमिकामा छन् ।
कलाकारको लाइनअप बलियो रहेको यो फिल्मले बक्सअफिसमा राम्रो पैसा छाप्ने विश्लेषण गरिएको छ । इपी एजुकेशन अष्ट्रेलिया र गोल्डेन हिल्स् पिक्चरको संयूक्त ब्यानरमा बन्ने यस फिल्मको गीतमा राजेन्द्र भट्ट (मिस्टर आरजे), शम्भुजित बाँस्कोटा र दिपक आरजेले संगीत भरेका छन् । पुरुषोत्तम प्रधान छायांकार रहेको फिल्मको द्वन्द्व निर्देशकमा हिमाल केसी छन् ।

