अभिनेता सलोन बस्नेतमा जीवन्त अभिनय पस्कने खुबी छ । अहिलेसम्म भूमिकामा खासै भिन्नता दिन नसके पनि उनको अभिनय सधैं उम्दा हुन्छ । पर्दामा चुलबुले भूमिकामा निकै रुचाइएका उनी जुन फिल्ममा काम गर्छन् तारिफ आफ्नो पोल्टामा पारेकै हुन्छन् । फिल्ममा उनी भएपछि लिड हिरोलाई समेत लाल्टिन बालेर खोज्नु पर्ने हुन्छ । ‘ए मेरो हजुर २’, ‘गाजलु’ यसका उदाहरण हुन् ।
.jpg)
केही वर्षयता सहायक भूमिकामा उनलाई सर्वाधिक खोज्ने गरिन्छ । अभिनेतामा अहिलेका जल्दाबल्दा अभिनेता अनमोल केसीदेखि सलिनमान बनियासम्म आफ्नो फिल्ममा उनलाई लिन निर्माता र निर्देशकसँग पहल गर्ने गरेका छन् । उनले लिड हिरोको रुपमा केही फिल्ममा अभिनय गरेता पनि जम्न सकेनन् । तर, उनले जुन फिल्ममा हिरोको साथी भएर काम गरे, प्रायः सफल छन् ।
फिल्म छनोटमा चुजी हुन नसकेको आरोप खेपिरहेका उनको नयाँ फिल्म ‘हजार जुनीसम्म’ यही बिहीबारबाट प्रदर्शनमा आउँदैछ । विकासराज आचार्य निर्देशित यो फिल्ममा उनी नव अभिनेता अखिलेस प्रधानको साथीको भूमिकामा छन् । उनको कारणले पनि दर्शकको ठूलो वर्ग हलसम्म तान्न सक्ने विश्वास निर्माण टिममा छ । त्यसैले त ट्रेलरमा उनलाई पर्याप्य ‘स्क्रिन स्पेश’ दिइएको छ ।
.jpg)
.jpg)
उनी यस फिल्ममा आफ्नो भूमिकामा उत्ति साह्रो भिन्नता नभएको बताउँछन् । तर, आफ्नो काममा केही परिपक्वता आएको उनले महशुस गरेका छन् । ‘हजार जुनीसम्म’ अर्को एउटा ‘होस्टेल’ बन्छ कि जस्तो लागेको छ । किनकि, फिल्म निकै बलियो छ’, उनी भन्छन्, ‘फिल्म इन्डस्ट्रीको निकै राम्रो राम्रो मान्छेसँग काम गर्ने अवसर पाएको छु । मेरो लागि यो एउटा माइलस्टोन साबित हुनसक्छ ।’
उनी आफूलाई प्रायः एकैखाले भूमिका अप्रोच हुनुको पछाडि डेब्यू फिल्म ‘होस्टेल’ को प्रभावलाई मान्छन् । ‘मैले ‘होस्टेल’ मा जुन भूमिका निर्वाहा गरेँ त्यो सबैले मन पराउनुभयो । मलाई अझैसम्म पनि ‘जंगे’ भनेर बोलाउनुहुन्छ । दर्शकले मलाई त्यही क्यारेक्टर मन पराएका कारण मेकरले पनि त्यस्तै भूमिका अप्रोच गर्नुहुन्छ’, उनले भने । सहायक भूमिकामा जमेका उनी आफूलाई आफैं फिल्म लिड गर्नुपर्छ भन्ने कहिल्यै नलागेको बताउँछन् ।
आफ्नो काम दर्शकले रुचाइरहेका कारण तत्काल आफूले छनोट गरेको भूमिकामा भिन्नता नआएको उनको तर्क छ । तर, उनी आफ्नो कामबाट सन्तुष्ट र खुसी रहेको बताउँछन् । विस्तारै आफूलाई परिमार्जित गर्दै लैजाने उनको सोच छ । लिड हिरोले फिल्ममा पाउने ‘स्पेश’ ले आफूलाई कहिल्यै डाहा नलाग्ने पनि उनले बताए । ‘मैले अहिलेसम्म फिल्ममा पछाडि परेको महशुस गरेको छैन । दर्शकले अहिलेसम्म मलाई मन पराउनुभएको छ । म त्यसैमा खुसी छु’, उनी सुनिए ।
.jpg)
.jpg)
गीतसंगीतका कारण चर्चामा रहेको ‘हजार जुनीसम्म’ मा सलोनका अलावा आर्यन सिग्देल, अनुभव रेग्मी, स्वस्तिमा खड्का, अखिलेस प्रधान, प्रियंका कार्की, सञ्चिता लुईंटेललगायतका कलाकारहरुको अभिनय छ । फिल्मलाई पुरुषोत्तम प्रधानले खिचेका हुन् । फिल्मको पटकथा सामिप्यराज तिमल्सेनाले तयार पारेका हुन् । कविता रेग्मी कार्यकारी निर्माता रहेको फिल्मको निर्मातामा विशाल चाम्लिङ छन् ।

