Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

रामबाबुले दयाहाङबिना फिल्म नै नगर्ने हुन् ?

फिल्मीखबर, काठमाडौं, 2019/08/14
नेपालमा निर्देशक र कलाकारको सम्बन्ध खासै दिगो भएको देखिएको छैन । प्रायः पहिलो सहकार्य नै अन्तिम हुने गरेका छन् । कति कलाकार निर्देशकको काम गर्ने शैली र व्यबहारबाट आजित भएर पुनः सहकार्य नगर्ने गरि टाढिन्छन् । भने, कति निर्देशक कलाकारको अहमताका कारण दोहोर्‍याएर काम गर्दैनन् । पुरानो दुश्मनी भुलेर पुनः सहकार्यको हात अगाडि बढाएका उदाहरण हुँदै नभएका भने होइनन् । तर, निकै कम छन् । 
 
निर्देशक र कलाकारबीच ब्रेकअप र प्याचअपको श्रृंखला वर्षौदेखि चल्दै आएको छ । तर, नेपाली फिल्ममा केही यस्ता जोडी पनि छन्, जसको सहकार्य अहिलेसम्म टुटेको छैन । मौलिक कथामा फिल्म बनाउन खप्पिस मानिने निर्देशक रामबाबु गुरुङ र अभिनेता दयाहाङ राई यसका उदाहरण हुन् । वास्तविक जीवनमा असल मित्रसँगै दुईले व्यवसायिक पाटोमा पनि एकअर्कालाई साथ र सहयोग गर्ने गरेका छन् । अहिलेसम्म रामबाबुको फिल्ममा दयाहाङ छुटेका छैनन् । 
 
दयालाई ‘स्टार’ बनाउने श्रेय रामबाबुलाई दिइन्छ । उनका लागि रामबाबु यति लक्की छन् कि, एकाधबाहेक उनले अन्य निर्देशकसँग काम गरेका कुनै फिल्मले सफलताको झण्डा फहराउन सकेका छैनन् । रामबाबुसँगको सहकार्यले भने उनलाई निराश बनाएको छैन । प्रायः फिल्मले समीक्षात्मक र व्यावसायिक दुबै सफलता हात पारेका छन् । यसकारण पनि दयाहाङले निर्देशक गुरुङको साथ छाड्न सकेका छैनन् । उनले आफ्नो करिअर बनाउने जिम्मा रामबाबुलाई सम्पेका छन् । 
 
 
फिल्म 'कबड्डी' बाट दुईबीच सहकार्यको विजारोपण भएको थियो । यसपछि 'मिस्टर झोले', 'पुरानो डुङ्गा', 'कबड्डी २' , 'साइँली' र हाल 'कबड्डी कबड्डी कबड्डी' सम्म निर्देशक गुरुङ र दयाहाङको सहकार्य भइसकेको छ । रामबाबुले दयालाई कुन हदसम्म सहयोग गर्छन् भने आफूले निर्देशन नगरेको फिल्ममा पनि लगानी गरिदिन्छन् । 'झुम्की', 'त्यान्द्रो' र 'आप्पा' यसका उदाहरण हुन् । यी फिल्मका कलाकार दयाहाङ हुन् तर निर्देशक रामबाबु होइनन् । तर, उनी निर्माताको रुपमा जोडिएका थिए । 
 
गाउँले भूमिकामा निकै रुचाइएका अभिनेता दयाहाङले अरु निर्देशकको फिल्म पारिश्रमिक, भूमिका र स्क्रिप्ट चित्त बुझे मात्र गर्छन् । रामबाबुको फिल्म भने विना पारिश्रमिक र स्क्रिप्ट नै नपढेर पनि काम गर्न राजी हुन्छन् । यसको अर्थ दुईलाई एकअर्काप्रति पूरा विश्वास र भरोसा छ । त्यसैले त उनीहरुको सहकार्यको डोरी अहिलेसम्म चुँडिएको छैन । झन् कसिलो हुँदै गएको छ । तर, फिल्मवृतमा भने रामबाबुले दयाहाङलाई मात्र च्याप्ने गरेको टिका-टिप्पणी हुने गरेका छन् । 
 
उनले दया नभएको फिल्मको क्याप्टेनसिप सम्हाल्न नै अस्वीकार गर्ने गरेको चर्चा पनि चल्दै आएको छ । लगातार एकपछि अर्को फिल्ममा उनले दयालाई साथ नछाड्नुले बजारको हल्लालाई केही हदसम्म सत्य प्रमाणित गर्छ । के रामबाबुले सधैं दयाहाङलाई मात्र च्याप्ने हुन् ? उनीबिना फिल्म नै नगर्ने हुन् ? यसको जवाफ त उनीसँगै होला । निर्देशक र कलाकारबीच सम्बन्ध सुमधुर हुनु राम्रो पक्ष हो । तर, एउटा मात्र कलाकारलाई च्यापेर हिँड्नु निर्देशक हुनुको धर्म पूरा नहोला कि ?
 
रामबाबुले आफ्नो फिल्ममा दयाहाङलाई प्रमुख भूमिकामा अटाउँछन् । तर, अब केमियोमा समेत नछाड्ने भएका छन् । दुईको सहकार्य सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) ले निर्माण गर्न लागेको फिल्म 'सेन्टी-भाइरस' मा पनि हुँदैछ । तर, यो फिल्ममा दयाको प्रमुख भूमिका रहने छैन । उनको केमियो हुने बताइएको छ । प्रमुख भूमिकामा 'धुर्मुस-सुन्तली' स्वयं देखा पर्नेछन् । फिल्मलाई निर्देशन गर्ने जिम्मा रामबाबुलाई सुम्पिएको छ । भदौ पहिलो साताबाट फिल्मको छायांकन सुरु हुँदैछ । 
Most Visited News (monthly)