नेपाली फिल्ममा द्वन्द्व निर्देशकको रुपमा आफूलाई स्थापित गरेका अष्ट महर्जन पहिलो पटक फिल्म निर्देशनमा हात हाल्ने तयारीमा छन् । तर, उनले आफ्नो विधाबाट हटेर लभस्टोरी जनरामा फिल्म बनाउन लागेका हुन् । नाम गोप्य राखिएको फिल्ममा लिड आर्टिस्ट फाइनल भइसकेका छन् । उक्त फिल्ममा अभिनेत्री सारा सिर्पालीसँग नव-नायक प्रितमराज सेन्चुरीको जोडी बाँधिनेछ ।
प्रितम यसअघि फिल्म ‘रानी महल’ मा अनुबन्ध भएका थिए । तर, निर्माता र निर्देशकबीच आर्थिक लेनदेनमा विवाद उत्पन्न भएपछि आधा छायांकन पनि पूरा नहुँदै फिल्म कहिल्यै नबन्ने गरि थन्कियो । अष्टले फिल्ममा ‘लम्फू’ फेम्ड अभिनेता कबीर खड्कालाई पनि प्रमुख भूमिकामा अनुबन्ध गरेका छन् । केही दिनमा घोषणा गरिने फिल्मको छायांकन भदौ पहिलो साताबाट सुरु हुने बताइएको छ ।

सरोज खनाल र हिउँवाला गौतमको पनि फिल्ममा अभिनय रहने अष्टले बताए । आफ्नो विधाबाट हटेर फिल्म बनाउने जोखिम उठाउनुको कारणबारे बताउँदै उनी भन्छन्, ‘मैले एक्सन फिल्ममा काम गर्दै आएको भए पनि पहिलो निर्देशकीय सुरुवात चाहिँ लभस्टोरीबाट गर्न इच्छा थियो । म जोखिम त यत्तिकै पनि लिने मान्छे हुँ । जोखिमसँग लड्न मलाई खुसी लाग्छ ।’
ए.एच इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुने फिल्मलाई हिराकृष्ण शाहीले निर्माण गर्नेछन् । पोखरालगायतका स्थानमा छायांकन हुने फिल्ममा राजेश श्रेष्ठले खिच्नेछन् । अर्जुन पोखरेल र कल्याण सिंहको फिल्मका गीतमा संगीत रहनेछ । कोरियोग्राफीको जिम्मेवारी कविराज गहतराजलाई सम्पिएको छ । निर्देशक अष्टले फिल्मलाई उत्कृष्ट बनाउन हदैसम्म प्रयास गर्ने बताए ।
अभिनेत्री साराले संख्यात्मक हिसाबले तीन फिल्ममा अभिनय गरिसके पनि बक्सअफिसमा कुनै सफल भएनन् । फिल्म क्षेत्रमा उनलाई सम्भावना बोकेको अभिनेत्रीको रुपमा हेर्ने गरिन्छ । उनको सुन्दरता र अभिनयको निकै प्रशंसा हुने गरेको छ । तर, एकपछि अर्को फिल्मले भोगेको असफलताले उनलाई अगाडि बढ्न रोकेको छ । आशा गरौं, अष्टको फिल्मले उनको डुब्न लागेको करिअर सम्हाल्नेछ ।

