भारतीय टेलिभिजन जी टीभीको रियालिटी शो ‘सारेगमप लिटल च्याम्प्स’ मा चौथो स्थान हासिल गरेका आयुष केसीले पहिलो पटक नेपाली फिल्मको गीतमा आवाज भरेका छन् । उनको आवाजमा समावेश फिल्म ‘हजार जुनीसम्म’ को शिर्ष गीत सार्वजनिक भएको छ । उनले गायक उदय सोताङ्गको चर्चित गीत ‘हजार जुनीसम्म’ गाएका हुन् ।

उक्त गीतलाई रि–एरेन्ज गरेर फिल्ममा समावेश गरिएको हो । गीतलाई उदय स्वयंले तयार पारेका हुन् । फिल्ममा उदय र आयुष दुबैको स्वरमा गीत रहने भएता पनि निर्माण पक्षले यूट्युबमा आयुषको स्वर रहेको गीत मात्र सार्वजनिक गरेको हो । गीतमा पवन चाम्लिङ्ग ‘किरण’ को शब्द र योगेन्द्र घातानीको संगीत छ ।
गीतको लिरिकल भिडियोमा फिल्मका चल-अचल दृश्यहरु समावेश छन् । आर्यन सिग्देल, स्वस्तिमा खड्का, अनुभव रेग्मी, सलोन बस्नेत, अखिलेष प्रधान, सञ्चिता लुईंटेललगायत गीतमा फिचरिङ छन् । आर्यनका केही प्रेमिल संवादलाई पनि गीतमा स्थान दिइएको छ । यो फिल्म साउन ३० गतेबाट प्रदर्शनमा आउँदैछ ।
बाल गायक आयुषले ‘हजार जुनीसम्म’ जस्तो चर्चित गीत गाउन पाउनु आफ्नो लागि एक किसिमको जीत भएको बताएका छन् । विकासराज आचार्य निर्देशित यो फिल्मलाई पुरुषोत्तम प्रधानले खिचेका हुन् । फिल्मको पटकथा सामिप्यराज तिमल्सेनाले तयार पारेका हुन् । कविता रेग्मी कार्यकारी निर्माता रहेको फिल्मको निर्मातामा विशाल चाम्लिङ छन् ।
गीत हेर्नुहोस् :-

