फिल्म प्रदर्शनका लागि दशैं विदा उपयुक्त मानिन्छ । करीब एक हप्ता विदा हुने हुँदा फिल्मले व्यापार पनि राम्रो गर्छ । हिन्दू धर्मालम्बीको महान पर्व भएका कारण यो बेला फिल्म प्रदर्शनका लागि शुक्रबार कुर्नु पर्दैन । जुन दिन पनि प्रदर्शनका लागि खुल्ला छ । त्यसैले दशैंको छेकोमा फिल्म प्रदर्शन गर्न निर्माताबीच हानाथाप हुने गरेको छ । यो रस्साकस्सी वर्षौदेखि चल्दै आएको छ ।
यस वर्ष असोज १२ गते (घटस्थापना) बाट दशैंको रमझम सुरु हुँदैछ । यस वर्ष दशैंको विदा कब्जा गर्ने दौडमा दुई फिल्म छन्, अशोक शर्माकोे ‘रातो टीका निधारमा’ र दीपकराज गिरी समुहको ‘छ माया छपक्कै’ । गत वर्ष पनि अशोक र दीपकबीच ‘जय भोले’ र ‘छक्का पञ्जा ३’ दशैंमा प्रदर्शन गर्न ठूलै रस्साकस्सी चलेको थियो । दुई फिल्म भिड्ने मुखमै पुगेका थिए तर अन्तिममा एक हप्ताको अन्तर रोजे ।
गत वर्ष घटस्थापना दीपकराजलाई दिएर फूलपातीमा सरेका अशोकले यस वर्ष ‘रातो टीका निधारमा’ लाई घटस्थापनामा ल्याउँदैछ । शुक्रबार साँझ उनले फेसबुकमार्फत् फिल्मको प्रदर्शन मिति असोज १० गतेलाई घोषणा गरे । उनले फिल्मको प्रदर्शन मिति घोषणा गरेपछि दीपकराजलाई अर्को समस्या खडा भएको छ । उनको टिम यो मितिमा ‘छ माया छपक्कै’ प्रदर्शनमा ल्याउने आन्तरिक तयारीमा थियो ।

साउथ सुपरस्टार प्रभास अभिनीत फिल्म ‘साहो’ को डरले भाद्र १३ मा आउने निश्चित भएको मल्टीस्टारर फिल्म ‘कबड्डी ३’ असोज ३ मा सर्यो । यो फिल्म नसरेको भए उक्त मितिमा ‘छ माया छपक्कै’ आउने सम्भावना प्रवल थियो । यसका लागि दीपकराजले हेमराज विसी निर्देशित फिल्म ‘घामड शेरे’ लाई असोज ३ बाट सारेका थिए । तर, उनीभन्दा चलाख ‘कबड्डी’ निर्देशक रामबाबु गुरुङ निस्किए । दीपकराज गिरी हिस्सै परे ।
यो फिल्म आफूले चाँजोपाँचो मिलाएको मितिमा आएपछि दीपकराजले आवेशमा भने, ‘अब हामी भाद्र २७ मा आउँछौं । ‘कबड्डी ३’ रिलिजको एक हप्तापछि आउँदा हल पाइन्न । त्योभन्दा राम्रो यो फिल्मभन्दा एक हप्ता अगाडि नै आउँदैछौं ।’ उनले ‘कबड्डी’ टिमलाई प्रदर्शन मितिमा पूर्नविचार गर्न पनि आग्रह गरे । तर, उनको चित्कार कसले सुन्ने ? दशैंको विदा खाने लोभले ‘कबड्डी ३’ असोज ३ बाट डगमगाएन ।
यसलाई डराउन र प्रदर्शन मितिमा बार्गेनिङ गर्न दीपकराजले अनेकन उपाय अपनाए पनि सफल हुने देखिएको छैन । भाद्रमा उनी फिल्म रिलिज गर्ने पक्षमा छैनन् । किनकि, विदा छैन । असोज ३ मा ‘कबड्डी ३’ छ । असोज १० मा ‘रातो टीका निधारमा’ आएको छ । अब बाँकी रह्यो असोज १७ । यसको दुई दिन अगाडि ऋतिक रोशन र टाइगर श्राफको फिल्म ‘वार’ लाग्दैछ । योसँग भिड्ने आँट दीपकराजको टिमसँग छैन ।
‘छ माया छपक्कै’ को अगाडि अब कि नेपाली वा हिन्दी फिल्मसँग भिड्ने नभए दशैं छाड्नु पर्ने विकल्प छन् । भदौमा आएर न यता न यताको हुन दीपकराजको समुहले चाहेको छैन । न त दशैं छाड्नै चाहन्छ । ‘वार’ सँग भिड्ने जोखिम पनि उठाउने पक्षमा छैन । फिल्मवृतमा चलेको चर्चालाई आधार मान्ने हो भने यो फिल्म ‘रातो टीका निधारमा’ सँग भिड्ने सम्भावना बलियो छ ।
दुई फिल्मबीच भिडन्त होला वा टर्ला ? धेरैका लागि चासोको विषय बनेको छ ।

